
सुवास नेपाली
कार्तिक २७, डोटी

नेपाली सेनाको सुदूर पश्चिम पृतनाका पृतना पति विजय थापाले डोटी जिल्लाको निरीक्षक भ्रमण गर्नुभएको छ। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गर्दै डोटी जिल्लालाई कार्य क्षेत्र बनाई कार्य गरिरहेको श्री भैरव प्रसाद गणले नगरपालिका तथा गाउँपालिकाहरूमा स्थापना गरेका स्थायी पोस्टहरूको निरीक्षण गर्नु भएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिनुभयो।
निरीक्षण भ्रमणका क्रममा पृतनापति थापाले स्थानीय तह निर्वाचन २०७९ लाई स्वतन्त्र ,निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न भैरव प्रसाद गणले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन पनि सोही ढङ्गबाट सम्पन्न गर्न सेनाका सकल दर्जाहरूलाई निर्देशन समेत दिनुभयो।
जनताले निर्वाचनमा स्वतन्त्र ,निष्पक्ष र भयरहित रूपमा मतदान गर्ने वातावरण सृजना गर्न नेपाल सरकारबाट प्राप्त महत्त्वपूर्ण जिम्मेवारी नेपाली सेनाको काँधमा आएको भन्दै उक्त जिम्मेवारीलाई सर्वोपरि ठानी कर्तव्य पथमा लाग्न पनि पृतनापति थापाले निर्देशन गर्नु भयो। निरीक्षणकै क्रममा थापाले जिल्ला स्थित सुरक्षा प्रमुखहरू सँग पनि निर्वाचन सुरक्षा सम्बन्धिअन्तरकृया पनि गर्नु भएको थियो।
