डोटी जिल्लमा नमुना मतदानको अभ्यास 

डोटी : जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लाका नौ वटै पालिकामा नमुना मतदान कार्यक्रम गरेको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै सबै पालिकामा नमुना मतदान गरिएको हो । डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नमुना मतदान गर्नुको मुख्य उद्देश्य निर्वाचनको माहोल सिर्जना गर्नु र मतदातालाई मतदान गर्ने तरिका सिकाउनु रहेको बताउनुभयो । मतदाताहरूले आफ्नो मतदानको अधिकार प्रयोग गर्दा कसरी मतदान गरेमा मत बदर हुँदैन भन्ने जानकारी दिन जिल्लाभर नमुना मतदान गरिएको उहाँले बताउनुभयो ।
जिल्लाको बडिकेदार गाउँपालिकामा गरिएको नमुना मतदान केन्द्रमा ९८ मत खसेकोमा १० मत बदर भएको छ । बोगटान फुड्सिल गाउँपालिकामा ६६ मा १५, दिपायल सिलगढी नगरपालिकामा ४३ मा ७,  शिखर नगरपालिकामा ३६ मा ३ र सायल गाउँपालिकामा  ६० मा ११ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिनुभयो । त्यस्तै आदर्शमा गाउँपालिकामा ५० मा १२, जोेरायल गाउँपालिकामा ६२ मा ४, पुर्विचौकी गाउँपालिकामा ४२ मा ९ र के.आई.सिंह गाउँपालिकामा ५८ मा १३ मत बदर भएका छन् ।
गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गरिएको मतदान जस्तै  नमुना मतदानमा धेरैले मतदान गरेकोले मत  बदर भएको निर्वाचन अधिकारी पन्तले बताउनुभयो । एकै मतपत्रमा धेरै ठाउँ छाप लगाइएको पाइएको उहाँको भनाई छ । तर आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एक मतपत्रमा एक मात्रै छाप लगाउनु पर्ने उहाँले बताउनुभयो ।  मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा डोटी जिल्लाका एक लाख २४ हजार ८ सय ७० जना सहभागी हुने भएका छन् । जम्मा मतदातामा ६५ हजार ७ सय ३५ महिला र ५९ हजार एक सय ३५ जना पुरुष रहेका छन्
Sayalb
Shaileshwori
Loading...