
गणेश मौनी पुस ८, डोटी
सुदूरपश्चिम प्रदेशका डोटी लगाएतका विभिन्न जिल्लाहरुमा भुवा पर्बलाई ऐतिहासीक पर्बको रुपमा मनाईने गरिन्छ । पुरानो किम्बदन्ती अनुसार पौराणिक कालमा महाभारतको युद्धमा कौरवमाथि पाण्डबले विजय प्राप्त गरेको दिनको सम्झनामा मनाईने भुवा पर्वलाई सूदुरका गाउँ गाउँमा तामझामका साथ मनाईरहेका छन् ।

पौष पूर्णिमाको दिनदेखि सुरु भएर विभिन्न स्थान अनुसार ३ देखी १५ दिनसम्म चल्ने भुवा पर्बमा हातमा तरबार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ सेटीगाउँका भुवा मेला ब्यवस्थापन समितिका अध्यक्ष बिरमल कडायतले बताए । महाभारतको युद्धमा पाण्डव र कौरब बिचको गाथामा आधारित यस पर्बलाई स्थानीय भाषामा भस्सो पर्बको नामले चिनीने गरेको समेत अध्यक्ष कडायतले बताए ।

भुवा पर्ब विशेष गरी सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, डोटी र बाजुरा जिल्लाका विभिन्न स्थानहरुमा मनाउने गरिन्छ । भुवा पर्वको अवसरमा पाण्डव र कौरवको गाथा गाउने तथा ढाल र तरबार सहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने, भारीखेल लगाउने बेलुका र राति देउडा खेलेर रमाइलो गर्ने प्रचलन रहेको सुनादेबी माध्यामीक बिद्यालयका शिक्षक कृष्ण बहादुर कडायतले बताए । उनले भने भुवा पर्बमा आफन्तहरु सँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा पर्ब अवधीभर दैनिक रुपमा रमाइलो गर्ने गरिन्छ । सबै जातजाति तथा गाउँ समाजको एकता, भाइचारा एवं आपसी सद्भाव झल्काउने पर्वका रूपमा भुवा पर्बलाई लिने गरेको शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले बताए । उनले भने, ‘सुदूरपश्चिमबाट लोप हुने अवस्थामा रहेको यो भुवा पर्बलाई जोगाउन यहाँका युवा पुस्ता एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।

भुवा पर्बमा अघिल्लो पुस्ताका बूढापाकाले लोकलयमा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश र माया साटासाट गर्ने गरेको डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए । उनले भने भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो, भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछन्। भुवा पर्बको नाचका क्रममा नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकलाहरु प्रदर्शन गर्ने समेत गरिन्छ । भुवा पर्वको अबसरमा सुदुरपश्चिम प्रदेश सरकारले आज बझाङ, अछाम, बाजुरा र डोटी जिल्लामा सार्वजनिक बिदा दिएको थियो ।



