
डोटी : हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार दिपायल स्थित होटेल सत्कारको सभा हलमा दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख कल्पना साउदको प्रमुख आतिथ्ययतामा साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्थाको लगानी पाँच करोड १० लाख ८४ हजार ८ सय ७७ रहेको कोषाध्यक्ष खडक विक्रम शाहीले बताउनुभयो । पाँच सय ६७ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड ५१ लाख ९३ हजार पाँच सय ५० र बचत चार करोड ६२ लाख ८ हजार ४ सय ५६ रुपैयाँ रहेको छ । जगेडा कोष २४ लाख ६७ हजार ४ सय २४ रहेको छ । २०६५ सालमा स्थापना भएको सहकारी संस्थामा हाल ९ जनाको कार्यसमिति रहेको अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो ।


साधारण सभा कार्यक्रममा संस्थाको वित्तीय अवस्था बारे कोषाध्यक्ष खडक विक्रम शाहीले जानकारी दिनुभएको थियो भने लेखा समिति संयोजक शङ्कर बहादुर कठायतले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कल्पना साउदले सहकारीले विभिन्न व्यावसायिक कार्यहरू गरिरहेको भन्दै यो कार्यलाई नीति र नियम सङ्गत अझ विस्तार गर्न तर्फ संस्थाको ध्यान आकर्षण गराउनुभयो । उहाँले नगरपालिकासँग समन्वय गर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताउनुभयो ।

