
डोटी : स्थानीय तहमा कार्यरत कृषि/पशु सेवा प्राविधिकहरूको लागि पकेट/ब्लक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराको आयोजनामा कृषि ज्ञान केन्द्र डोटीको तालिम हल सिलगढीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डोटी जिल्लाका नौ वटै स्थानीय सहका कृषि तथा पशु सेवा प्राविधिकहरूको सहभागिता रहेको थियो । परियोजना अन्तर्गत रहेर प्राविधिकहरूले गर्नु पर्ने कार्य, परियोजनामा रहेका कार्यनीतिको बारेमा कार्यक्रममा छलफल गरिएको छ । डोटी जिल्लामा मसला बाली र सुन्तला बाली गरेर दुई कृषि जोन लागु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख ध्रुवराज जोशीले बताउनुभयो । कार्यक्रममा सहभागीले जिल्लाका विभिन्न पालिकालाई समेटेर थप बाख्रा जोन, भैँसी जोन र तरकारी जोन घोषणा गर्नुपर्ने मा जोड दिएका थिए । कार्यालय प्रमुख जोशीले माग भए अनुसारका जोन घोषणा गर्न आवश्यक कार्य गर्ने बताउनुभयो ।

कृषकहरू बिचौलियाबाट ठगिने गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले यस्तो समस्याबाट कृषकहरूलाई जोगाउनुपर्ने बताउनुभयो । उत्पादन भएको बस्तु बजार नपाउँदा सड्ने गरेकोले त्यसलाई ब्राण्डिङ गर्न सके लाभ उठाउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंहले परियोजना लागु भएको ठाउँमा सम्बद्ध निकायले बेलाबेला परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अनुगमनबाट कृषकका समस्या बुझेर समाधान गर्न तिर ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । कृषकहरूलाई बिउँ वितरण हुने तर त्यसले प्रतिफल दिन नसकिरहेको भन्दै उहाँले पहिला माटो परीक्षण गर्नुपर्ने बताउनुभयो । जसबाट लगानी खेर जाँदैन ।
