
डोटी : डोटीको बाेगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ छिडिखानमा औपचारिक रूपमा बस सेवा सुरु भएको छ । जिल्लाको दक्षिणी भेगमा अवस्थित गाउँपालिकाको छिडिखानमा शुक्रवार बाट बस सेवा सञ्चालनमा आएको छ ।
सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.को बस पुगेसँगै बाेगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र यातायात पदाधिकारीले संयुक्त रूपमा टिकट काउन्टरको उद्घाटन गरेका छन् । यहाँका नागरिक अब छिडिखान देखि कैलालिको जोशीपुरसम्म बसमा यात्रा गर्न पाउने भएका छन् । छिडिखान देखि जोशीपुरसम्मको भाडा दर एक हजार एक सय ५० निर्धारण गरिएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाको ठुलो मेहनतबाट छिडिखानलाई बस सेवासँग जोड्न सकिएको सुदूरपश्चिम यातायातका वरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेले बताए । उनले यहाँका नागरिकको सहजताका लागि सधैँ सेवा दिने प्रतिबद्धता जनाएका छन् ।
लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा बस सेवा सञ्चालन गर्न सफल भएको भन्दै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले अबको केही समय भित्र गाउँपालिका केन्द्र चवरा चौतारा सम्म बस सञ्चालन गरिने बताए । यहाँका जनतालाई सेवा दिने गरी नियमित बस सञ्चालनका लागि सडक निर्माण गर्ने अध्यक्ष गडसिलाले बताए ।
वडा अध्यक्ष खेम मगर वडामा बस पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । बसको नियमित सञ्चालनका लागि बाटो राम्रो बनाउने काम आफ्नो भएको उनको भनाइ छ । बस सेवा सञ्चालनमा आएसँगै यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् ।
