
डोटी :डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोकिदा ६ जना घाइते भएका छन् । मंगलबार बिहान सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल अदालत मोड सिलगढी स्थित एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा जिप चालक विष्णु बिस्ट, जिपमा सवार २९ बर्सिया टङ्क कुमारी उपाध्याय, ६५ बर्सिया धौली बिस्ट र २४ बर्सिया दुर्गा देवी बिस्ट र डेढ वर्षीय बालक सिर्जन बिस्ट रहेका छन् ।

त्यस्तै मोटरसाइकल चालक ३२ वर्षीय विष्णु बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको बताइएको छ ।
