
सिलगढी : डोटीको सिलगढीमा दुई दिने मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धी सरोकारवालाहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ । लुथरन विश्व फेडरेसन नेपालको सहयोग र उपेक्षित सामुदायिक सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीको आयोजनामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको हो ।
कोभिड–१९ बाट प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजना अन्तरगत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतका सरोकारवालाहरूको लागि तालिमको आयोजना गरिएको युएसएसबिएम डोटीका अध्यक्ष टिका सिंह नेपालीले बताउनुभयो । तालिमको प्रशिक्षकमा मनोसामाजिक परामर्शकर्ता धनराज विक रहनुभएको थियो । मानसिक स्वास्थ्य समस्या हुँदा देखिने लक्षण, कारणका साथै त्यसबाट देखा पर्ने असरको बारेमा बुझ्दै समस्यामा रहेकालाई कसरी परामर्श दिन सकिन्छ लगायत थुप्रै महत्त्वपूर्ण कुरा सिकेको तालिमका सहभागीले बताएका छन् । आफूले सिकेको कुरा व्यवहारमा उतार्ने र यस्ता तालिम समुदाय स्तरमा लैजान आवश्यक रहेको उनीहरूको भनाइ छ ।

हरेक समाजमा कुनै न कुनै रूपमा मानसिक समस्या भएका मानिस रहने भएकाले यस्तो तालिम अभियानको रूपमा लैजान आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले बताउनुभयो । मानिसमा हरेक किसिमको बोझ हुने र त्यसले गर्दा मानसिक समस्या पैदा हुने हुँदा यसको बारेमा सबैले बुझ्न र व्यवहारमा लागू गर्न आवश्यक रहेको उहाँको भनाइ छ । शुक्रवारबाट सुरु भएको तालिममा २० जनाको सहभागिता थियो ।

