

डोटी : समाजमा विद्यमान जातीय भेदभाव अन्य गर्न शिक्षित वर्गले नै नचाहेको एक कार्यक्रमका सहभागीले आरोप लगाएका छन् । मङ्गलवार सिलगढीमा आयोजना भएको निर्वाचित प्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग दलित सशक्तीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
जातीय भेदभावको अन्त्य बिस्तारै हुने भन्दै शिक्षित वर्गले नै जातीय भेदभाव गर्ने गरेको कार्यक्रमका सहभागी सुनिल सेवाले बताए । सती प्रथाको उदाहरण दिँदै उनले भने, सती प्रथा हटेको घोषणा गरेकै दिन देखि लागु हुने तर जातीय विभेद अन्त्य भएको लामो समय हुँदा पनि किन हट्न सकेन । हरेका वर्ष जातीय उन्मुलन दिवस मनाइने गरिए पनि त्यसले सार्थकता पाउन न सकेको उनको भनाई छ । त्यस्तै लक्ष्मी बाग्चनले दलित भएकै कारण ग्रामीण भेगका दलित समुदायका नागरी अझै पनि विभेद भोगी रहेको बताइन् । समाजबाट नेतृत्व गर्ने व्यक्ति बाटै विभेद भइरहेको उनले बताएकी छन् ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले दलितले संविधानमा भएका हक अधिकार उपभोग गर्न नपाएको बताएका छन् । उनीहरूलाई बाख्रा, कुखुरा वितरण गरेर मात्रै उनीहरूका हक अधिकार पुरा भएको मान्न नसकिने उनको तर्क छ । दलित वर्गको लागि छुट्टाइएको अधिकार कुनै हालतमा उनीहरूलाई दिन जनप्रतिनिधिले परिणाममुखी कार्य गर्न सक्नु पर्ने उनले बताए ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले दलित समुदायको लागि पर्याप्त काम गर्न नसकेको आफूहरूले स्वीकार गर्नुपर्ने बताएका छन् । आफूले पहिलो कार्यकालमै भेदभाव मुक्त वडा बनाउने लक्ष्यका साथ काम गरे पनि कोरोनाका कारण सफल नभएको उनले बताए । वडा अध्यक्ष खड्काले यो कार्यकालमा वडा हुँदै नगरपालिका नै छुवाछुत मुक्त घोषणा गर्नुपर्ने बताए ।
