
डोटी : सञ्चारकर्मी धन बहादुर बोहराको रगतले एक गर्भवती महिलाको ज्यान जोगिएको छ । बोहराले डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकाकी विनीता परियारलाई रगत दिएका हुन् । मङ्गलवार जिल्ला अस्पताल डोटीमा स्वास्थ्य चेकजाँच गर्न आएकी उनको शरीरमा रगतको मात्रा कम भेटिएको थियो ।

अस्पतालका डाक्टर राजेन्द्र फुलाराले परियारलाई रगत चाहिने बताएपछि बुधवार बोहराले रगत दिएका हुन् । ८ महिनाकी गर्भवती परियारको शरीरमा रगतको मात्रा ६ पिन्ट मात्रै रहेको थियो । परियारलाई २ पिन्ट रगत आवश्यक परेपछि बोहराले एक पिन्ट र अस्पतालका ल्याब असिस्टेन्ट हरिस खड्काले मङ्गलवार साँझ एक पिन्ट रगत दिएका थिए । रगत दान जीवन भन्ने मनासायका साथ रगत दान गरेको बोहराले बताए । उनले समस्यामा परेकोलाई सहयोग गर्नु नागरिकको कर्तव्य निभाएको बताए ।
