
गणेश मौनी
साउन २१, डोटी

डोटीको बडीकेदार गाउँपालिकामा प्रहरीले १ सय ५५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा वडा नम्बर ४ बागछेडा बजार स्थित आसपासका क्षेत्रहरूमा अवैध रूपमा बिक्री वितरण गर्न राखिएको मदिरा बनाउन प्रयोग गरिने भाँडाकुँडा र कच्चा पदार्थ सहित अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्कर दत्त पन्तले बताउनु भयो ।
जिल्लाका विभिन्न स्थानहरूमा प्रहरीले विगतका दिनहरूमा पनि ठुलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्दै आएको छ । यस कार्यलाई जिल्ला व्यापी रूपमा निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीले बरामद गरेको मदिरा गाउँपालिकाका जनप्रतिनिधि, व्यापारी, स्थानीय, पत्रकारको रोहबरमा आइतबार नष्ट गरिएको प्रहरी चौकी खँड्यौलीले जनाएको छ ।
