
डोटी । नेकपा (माओवादी केन्द्र) डोटी जिल्ला इन्चार्ज लक्षिराम आचार्यले १० वर्षे आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल डोटीले बुधवार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादीको ३ महिने पार्टी विशेष रूपान्तरण अभियानबारे जानकारी गराउँदै इन्चार्ज आचार्यले यस्तो बताएका हुन् । संसद् भित्र र बाहिरबाट ६२/६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि माथि आक्रमण भइरहेकोले उपलब्धिहरूको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने इन्चार्ज आचार्यले बताएका छन् ।
प्रतिक्रियावादीको षड्यन्त्र तोड्दै लामो सङ्घर्षबाट जनताले ल्याएको व्यवस्थाको संरक्षण गर्न जनता फेरि जुरमुराउनु पर्ने आचार्यले बताए । जसको लागि माओवादीले ३ महिने पार्टी विशेष रूपान्तरण अभियान भदौ १६ गते देशभर सञ्चालन गर्न लागेको उनले बताएका छन् । अभियानका क्रममा डोटीमा माओवादीले ६ टोली बनाएर ६ जना कमान्डर र साढे ६ हजार कार्यकर्ता परिचालन गर्ने भएको छ ।
पार्टीको आन्तरिक साङ्गठनिक जीवनसँगै आम जनसमुदायका बिचमा तीन चरणका कार्यक्रम लिएर जान लागेको माओवादी केन्द्र डोटीका संयोजक कमल बहादुर गड्सिलाले बताएका छन् । पार्टीले गरेका राम्रा काम जनता सामु पु¥याउन र पार्टीले गरेका कमजोरी प्रति आत्म आलोचित हुँदै सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिने संयोजक गडसिलाले बताए । मङ्गलवार सम्पन्न पाँचौँ जिल्ला पूर्ण बैठकले विभिन्न निर्णय गर्दै प्रत्येक वडा र टोलमा खटिनेहरूको जिम्मेवारी टुङ्ग्याएको उनले बताए ।

पार्टीले केही समययता आफ्नो बाटो भुलेको जस्तो आभास जनता सामु पर्न गएकाले फेरी पार्टीमा क्रान्तिकारीपन ल्याउनका लागि सर्भिसिङ्ग गर्न अभियान सञ्चालन गर्न लागिएको केन्द्रीय सदस्य शरदसिंह भण्डारीले बताएका छन् । विशेष अभियानका क्रममा पार्टी कार्यकर्ता र जनतालाई उत्पादनसँग जोड्ने गरी प्रशिक्षित गरिने केन्द्रीय सदस्य भण्डारीले बताए । कृषि अर्थतन्त्रलार्ई प्राकृतिक कृषि प्रणालीसँग जोड्ने उद्देश्य राखेर कृषि विज्ञबाट कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्ने उनले बताए । विगतमा बोकेका विषय भन्दा बाहिर जाँदा पार्टी खुम्चिनु परेकाले जनतासँग लम्बिएको दुरी घटाउँदै जनता र पार्टीको सम्बन्ध मजबुत बनाउन समुदायसम्म पुग्न लागेको भण्डारीले बताए ।
पार्टीको जनसम्बन्धलाई पुनर्जीवित गर्नका लागि पार्टी रूपान्तरण हुन आवश्यक रहेको पार्टीका केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशीले बताएका छन् । जनसमुदायमा गएर पार्टीको जनसम्बन्ध कमजोर हुनुको कारण खोज्न छलफल गर्ने र पार्टीको समाजवादको अभियान अगाडी बढाउने उनले बताए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले सुशासनलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको जोशीले बताए ।
विभिन्न प्रकरणमा मुछिएका आफ्नो पार्टीका नेता बचाउन अनुसन्धान प्रभावित पारेको आरोप माओवादीलाई लाग्ने गरेको भन्ने पत्रकारको प्रश्नमा जोशीले त्यस्तो आरोप गलत भएको बताए । प्रधानमन्त्री प्रचण्डले नै अनुसन्धानमा कुनै प्रकारको अवरोध नहुने र आफ्नै पार्टीका नेता कुनै प्रकरणमा मुछिएमा छानबिन गरिने सार्वजनिक रूपमै बताउने गरेकोले निष्पक्ष अनुसन्धानमा आशङ्का नगर्न उनले आग्रह गरे ।
