
कात्तिक १७, काठमाडौँ । नेपाल २०२४ मा हुने टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आइसिसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । शुक्रवार काठमाडौँको मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराएसँगै नेपालले सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।
मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्त्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।

काठमाडौँमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आइसिसी मेन्स टी–२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा वेष्ट इन्डिज, अमेरिका, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी र क्यानडा रहेका छन् ।
यस्तै आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।
