कोल्ड स्टोर निर्माणमा ढिलाइ, किसानलाई बाहिरि जिल्ला धाउनुपर्ने बाध्यता

कात्तिक ११, डोटी । कोल्ड स्टोर बन्ने भएपछि खुसी भएका डोटीको जोरायल गाउँपालिका-१ गैरा क्षेत्रका किसानहरू निराश भएका छन् । क्षेत्रीय कृषि निर्देशनालय दिपायलले भूमिराज रोशन निर्माण सेवासँग २०७८ वैशाख २ गते गैरा स्थित पोखरी डाँडामा कोल्ड स्टोर निर्माणका लागि सम्झौता गरेसँगै खुसी भएका किसान निराश हुन पुगेका छन् । एक वर्ष निर्माण कार्य सक्ने गरी सम्झौता भएको २० मेट्रिक टन भण्डारण क्षमता रहेको कोल्ड स्टोरको काम लामो समयदेखि अवरुद्ध हुँदा स्थानीय किसान निराश भएका हुन् ।

आलुको बीउ भण्डारण गर्ने उद्देश्यले निर्माण थालिएको कोल्ड स्टोरले पूर्णता नपाउँदा आफू जस्ता किसानलाई समस्या भएको मल्ल तरकारी फर्मका सञ्चालक खडक मल्ले बताए । उनले भने, “कोल्ड स्टोर निर्माणको काम लामो समयदेखि ठप्प छ, छिटो सञ्चालनका लागि आवाज उठाइरहेका छौ तर पनि सुनुवाइ भएको छैन ।”

यहाँ कोल्ड स्टोर नहुँदा बीउ भण्डारणको लागि डडेल्धुरा, कैलाली तथा कञ्चनपुरका कोल्ड स्टोर धाउनु पर्ने बाध्यता रहेको किसान मल्लले गुनासो गरे ।

जोरायल गाउँपालिका-१ मा रहेको जैविक विविधता संरक्षण कृषि सहकारीले पनि वार्षिक २० टन जति आलु सकल गर्छ । जोरायल क्षेत्रबाट सङ्कलन गरेको आलु बाहिरी जिल्लाका कोल्ड स्टोरमा जम्मा गर्नुपर्ने बाध्यता सहकारीलाई पनि छ । सहकारीले सङ्कलन गरेको आलु डडेल्धुराको दहव्यारेक र कैलालीको पहलवानपुरमा रहेको कोल्ड स्टोरमा लगेर भण्डारण गर्ने गरेको सहकारीका व्यवस्थापक गणेश विष्टले सुनाए । विष्टले भने, “यहाँ कोल्ड स्टोर नहुँदा सहकारीलाई पनि समस्या भएको छ, हामी ठुलो मात्रामा आलु सङ्कलन गर्छौ तर भण्डारण लागि व्यवस्था नहुँदा बाहिर धाउनु पर्छ जसले गर्दा समय र पैसा बढी खर्च हुने गरेको छ ।”

Sayalb

यता निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले रोकिएको काम तिहार लगत्तै सुचारु गर्ने जनाएको छ । कोभिड-१९ लगाएका विभिन्न समस्याले काम रोकिएको भए पनि अब छिट्टै सम्पन्न गर्ने निर्माण व्यवसायीले बताएको छ ।

गैरामा निर्माणाधीन कोल्ड स्टोर जस्तै सुदूरपश्चिम प्रदेशमा अन्य ६ ओटा कोल्ड स्टोरको काम पनि सम्पन्न भएको छैन । २०७८ वैशाख महिनामा सम्झौता भएका डोटीको राजपुर, दार्चुलाको महाकाली नगरपालिका, डडेल्धुराको आलिता गाउँपालिका, बैतडीको दशरथचन्द नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माणाधीन कोल्ड स्टोरको काम पूरा भएको छैन ।

क्षेत्रीय कृषि निर्देशनालय दिपायलका निर्देशक खगेन्द्र शर्माका अनुसार तत्कालीन समयमा प्रदेश भरी १३ ओटा कोल्ड स्टोर निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । १३ मा ६ ओटा ठाउँमा कोल्ड स्टोर निर्माण सम्पन्न भएकोमा ३ ओटा कोल्ड स्टोर (कैलालीको चुरे र चम्किचुहा तथा कञ्चनपुरको दोधाराचादनी) पालिकालाई हस्तान्तरण गरिसकिएको र ३ ओटा (बाजुरा, अछाम र कैलालीको अत्तरिया) हस्तान्तरणको प्रक्रियामा रहेको निर्देशक शर्माले जानकारी दिए ।

निर्माण कार्य अलपत्र रहेका कोल्ड स्टोरको काम चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी प्रक्रिया थालिएको निर्देशक शर्माले बताए । निर्माण कम्पनीहरूलाई ७ दिने सूचना काटिएको तथा तिहार लगत्तै पुनः सूचना काट्ने र त्यसपछि पनि काम सुचारु नभएमा अन्य प्रक्रियामा जाने उहाँले बताए ।

Shaileshwori
Loading...