
कात्तिक २७, बैतडी । चिर्पट प्रहारबाट बैतडीमा एकजना महिलाको हत्या भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टकी २३ वर्षीया सुनिता बोहराको चिर्पट प्रहारबाट मृत्यु भएको छ ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार सुनितालाई उनकी जेठानी ३० वर्षीया दिपा बोहराले चिर्पटले हिर्काएर हत्या गरेकी हुन् । घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

सोमबार राति ८ बजेको समयमा जेठानी दिपाले घरायसी विवादका क्रममा देउरानी सुनिताको टाउकोमा हिर्काएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाइ छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । चिर्पटले हानेर देवरानीको हत्या गर्ने दिपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको र घटनास्थल बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

