
असार १०, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले पालिका भित्रका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाबाट विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी सम्मान गर्ने कार्यक्रम अन्तरगत गाउँभाको अवसर पारेर सम्मान गरिएको हो ।
बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौर निवासी राष्ट्रिय भलिबल खेलाडी रमेश बम, वडा नं.३ सिमचौर निवासी खेम बमलाई गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला, उपाध्यक्ष बिष्ना देउवा बम र प्रमुख प्रशासकीय अधिकृत हेम बोगटीले सम्मान गर्नु भएको हो ।
भलिबलका राष्ट्रिय खेलाडी रमेशलाई रु एक लाख ११ हजार एक सय ११ र कवडीका राष्ट्रिय खेलाडी बम लाई रु २५ हजार १ सय ११ नगद पुरस्कार, प्रमाणपत्र, दोसल्ला र नेपाली टोपी सहित सम्मान गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
यस अघि क्रिकेटका राष्ट्रिय खेलाडी लोकेश बमलाई समेत पालिकाले सम्मान गरेको थियो ।

