

१३ साउन, डोटी । सुदूरपश्चिममा लागु औषधको कारोवार भयावह अवस्थामा पुगेको छ । प्रहरीले लागु औषधको कारोवारमा संलग्न भएको आरोपमा एक सातामा ४७ जनालाई नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सोमवारमात्र लागु औषधको कारोवारमा संलग्न भएको आरोपमा नौ जना समातिएका छन् । कैलालीको भजनी नगरपालिका–६ नवलपुरबाट अवैध लागूऔषध ८२० मिलिग्राम सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–५ का २० बर्षीय अमर डगौरा थारु र २० बर्षीय रोहित कुमार चौधरी रहेका छन् । यसैगरी, कैलालीकै धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट ७० मिलिग्राम लागु औषध सहित गोदावरी नगरपालिका–३ का २६ बर्षीय कृष्ण रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले प्रयोग गरेको सु.प.प्र.०१–००१ ह ४८५४ नम्वरको अटो समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोदावरी नगरपालिका–८ श्रीपुरबाट अवैध लागूऔषधको कारोवारमा संलग्न रहेको आरोपमा स्थानीय ३५ बर्षीय निर्मल चौधरी, २७ बर्षीय कालुराम चौधरी र धनगढी उपमहानगरपालिका–५ का १८ वर्षीय एक किशोरी रहेका छन् । प्रहरीले उनीहरुबाट सु.प.प्र.०१–०१३ प २७३५ नम्बरको मोटरसाइकल र १४० मिलिग्राम लागु औषध बरामद गरेको छ ।
सोमवारै कञ्चनपुरको भिमदत्त नगरपालिका–११ भाईरल रोड नजिकबाट अवैध लागूऔषध तीन ग्राम सहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ बर्षीय भिम सिँह धामी, ३१ बर्षीय देबेन्द्र बहादुर चन्द र नरेश मल्ल रहेका छन् । मात्रै लागु औषधमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
आईतबार कैलाली धनगढी उपमहानगरपालिका–७ देवरियाबाट अवैध लागूऔषध ३२५ मिलिग्राम सहित २५ बर्षीय पवन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका–३ खैरेनीबाट ३४० मिलिग्राम लागु औषध सहित स्थानीय १७ वर्षीय एक किशोर पनि पक्राउ परेका छन् । आईतवारै धनगढी उपमहानगरपालिका–१ शान्तिनगरबाट १ ग्राम ३ मिलिग्राम लागु औषध सहित २३ बर्षीय कुवेर पार्की पक्राउ परेका छन् । उनीसंगबाट, जरायोको जस्तो देखिने दुई सिङगे र ३५ हजार आठ सय ६० रुपैयाँ नगद समेत बरामद् भएको प्रहरीले जनाएको छ ।
शनिवार कैलालीको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट २९० मिलिग्राम लागु औषध सहित २९ बर्षीय सबिन रावललाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकबाट स्थानीय १७ वर्षीय एक किशोर र गौरीगंगा नगरपालिका–१ का बस्ने २५ बर्षीय मायाराम चौधरी पक्राउ परेका छन् । उनीहरुसंगबाट २ ग्राम ६७१ मिलिग्राम लागु पदार्थ बरामद भएको छ ।
शनिवारै धनगढी उपमहानगरपालिका–७ मोति चोकबाट १९८ मिलिग्राम लागु औषध सहित कैलारी गाउँपालिका–४ बस्ने २५ बर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही दिन कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीबाट लागूऔषधको कारोवारमा संलग्न भएको आरोपमा भिमदत्त नगरपालिका–१८ का २२ बर्षीय एस चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनीसंग भएको १६ ग्राम ३४० मिलिग्राम चरेश प्रहरीले नियन्त्रणमा लिएको छ । चन्दले प्रयोग गरेको म १ प ४२४४ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार कैलालीको कैलारी गाउँपालिका–५ गोबरैलाघाटबाट ४ सय ४७ मिलिग्राम लागु औषध र ११ हजार पाँच सय रूपैयाँ नगद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–७ भुईयाफाँटाका २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका–९ पचमुडियाका २७ वर्षीय निराजन चौधरी रहेका छन् ।
यसैगरी, कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट पनि १ सय २० मिलिग्राम सहित लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोटको रास्कोट नगरपालिका–४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध ४ ग्राम ३२३ मिलिग्राम सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २८ बर्षीय आयुष सिंह, ३४ बर्षीय जय बहादुर भण्डारी, ३० बर्षीय टेकेन्द्र बस्नेत र २५ बर्षीय श्रीमल चौधरी रहेका छन् ।
कैलालीको टिकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध ४०० मिलिग्राम सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्थानीय २८ बर्षीय सागर खत्री र १८ बर्षीय एक किशोर रहेका छन् । यसैगरी, गोदावरी नगरपालिका– ५ गेटा सुकुम्वासी टोलबाट अवैध लागूऔषध ३७० ग्राम सहित स्थानीय ४५ बर्षीय खडक डंगौरालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१७ पथरी पुलबाट लागुऔषधको कारोवारमा संलग्न भएको अरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय २६ बर्षीय राजेश राना र २५ बर्षीय किरन राना रहेका छन् । धनगढी उपमहानगरपालिका–७ जिपी चोकबाट २३८ मिलिग्राम लागु औषध सहित २५ बर्षीय बिकास जेठारा र २८ बर्षीय बिबेक राज उपाध्याय पक्राउ परेका छन् ।
धनगढी उपमहानगरकै ४ नं. वडाको बोराडाडीबाट अवैध लागूऔषध १ ग्राम ६५ मिलिग्राम सहित तीन जना समाथिएका छन् । समातिनेमा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ बर्षीय दिपक ऐरी, दोगडा केदार गाउँपालिका–६ ३१ बर्षीय हेमन्त कार्की र कैलाली गोदावरी नगरपालिका–१ का ३२ को सम्भु भट्ट रहेका छन् । यसैगरी, धनगढी उपमहानगर–८ कान्तिपुर टोलबाट १९ बर्षीय महेश राना र १७ वर्षीय एक किशोरी पक्राउ परेका छन् । उनीहरुसंग भएको तीन ग्राम ६१४ मिलिग्राम लागु औषध प्रहरीले बरामद गरेको छ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ धामिगडाबाट स्थानीय ६० बर्षीय गगन सिह बोहरालाई १३० ग्राम लागूऔषध चरेश र १५१ ग्राम गाँजा सहित पक्राउ गरेको छ ।
बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गजरौला बजारबाट २७ वर्षीय यज्ञ राज भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीसंग भएको ५१ ग्राम ७ सय ४० मिलिग्राम लागु औषध बरामद भएको छ । यसैगरी, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध १ ग्राम ५ सय ९० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका–१ का २४ वर्षीय राकेश राना समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–४ भगवती टोलबाट अवैध लागूऔषध ६ सय ४१ मिलिग्राम सहित स्थानीय २८ वर्षीय पुष्कर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार कैलालीको धनगढी उ.म.न.पा.६ केआई सिह चोकबाट अवैध लागूऔषध १ ग्राम ८ मिलिग्राम सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको लखिमपुर खिरीका २४ बर्षीय सलमान खान, २५ बर्षीय जहिद अली र २१ बर्षीय महोमद असलाम रहेका छन् । यसैगरी, कैलालीको धनगढी उपमहानगर–२ सिसा पोष्ट नजिकबाट लागूऔषध स्पास नामक ट्याब्लेट आठ सहित स्थानीय १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवारै कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका–१२ स्यालिनदीबाट ९६० मिलिग्राम सहित दुई जना समातिएका छन् । प्रहरीका अनुसार समातिनेमा ३० बर्षीय हेम राज जोशी र २८ बर्षीय रविन्द्र नेगी रहेका छन् । उनीहरुले प्रयोग गरेको सु.प.प्र.०१–०१३ प ०७७९ नं.को स्कुटरसमेत प्रहरीले वरामद गरेको छ ।
