

१५ साउन, डोटी । ‘मदिराका कारण हामी महिलाहरुले बाटो हिड्दा समेत टाउको निहुराएर हिड्नु पर्ने अवस्था छ । मदिराकै कारण गाउँगाउँमा लैङ्गिक हिंसा र घरेलु हिंसाका घटनाहरु बढ्दै भएका छन् । यो मदिरा नियन्त्रण गर्ने जिम्मेवारी कसको हो ?’
डोटीको जोरायल गाउँपालिका–६ कि चन्द्रा साउँदको प्रश्न हो यो । शुक्रवार सम्पन्न जोरायल गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा चन्द्राले भनिन् ‘मदिराका कारण महिलाहरु न घरभित्र सुरक्षित छन् न बाहिर । बुधवार मात्रै मदिराकै कारण जोरायल गाउँपालिका–४ देउथलामा आफ्नै श्रीमानबाट एक महिलाको हत्या भएको सम्झिदै चन्द्राले प्रश्न गरिन् ‘के महिलाहरुले यसरीनै ज्यान गुमाउनु पर्ने हो त ?’
यस्तै, प्रश्न थियो स्थानीय यसौदा मल्लको पनि । ‘मदिरा सेवन गरेर बाटोमा अश्लिल शव्दहरु प्रयोग गर्र्दै झगडा गर्छन्’ यसौदाले भनिन् ‘बाटोमा हिड्न समेत डर लाग्ने अवस्था भईसकेको छ ।’ मदिरा सेवन गरेर झगडा भएका बेला प्रहरीलाई खवर गर्दा प्रहरीले अनेक बहाना वनाउने गरेको यसौदाको गुनासो छ । उनका अनुसार अधिकांश परिवारमा श्रीमानले मदिरा सेवन गरेर श्रीमतीमाथी कुटपिट गर्छन् ।
गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र वनाउनु पर्ने उनको माग छ । ‘प्रहरी कार्यालय वरपर मदिराका पसल छन्, मदिराको गन्ध कार्यालयभित्रै पुग्छ’ यसौदाले थपिन् ‘बिद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय वरीपरी मदिराका पसलहरु छन् ।’ मदिरा बिक्री बितरण गर्ने समय पनि निश्चित हुनु पर्ने उनको भनाई छ ।
कार्यक्रमका सहभागि महिलाहरुको मदिरा नियन्त्रण गरिनु पर्ने माग थियो । मदिराका कारण महिलामाथी हुने हिंसा रोक्नु पर्ने उनीहरुको अनुरोध छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गर्ने जो कोहीलाई पनि आवश्यक कारवाही गरिने ईलाका प्रहरी कार्यालय, जोरायलका ईन्चार्ज प्रहरी नायब निरीक्षक पदम सिंह साउँद बताउँछन् । उनले भने ‘बिगतमा के भयो, त्यो मलाई थाह भएन तर म आईसकेपछि मैले कडाई गर्ने गरेको छु ।’
जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नविन ओझाले मदिरा नियन्त्रणका लागि सवै सरोकारवालाहरुको सामुहिक पहल हुनु पर्ने वताए । उनले आफ्नो वडाबाट मदिरा पसल सञ्चालनका लागि गरिने सिफारिसमा कडाई गरिएको वताए । उनी सार्वजनिक निकाय वरपर मदिरा बिक्रि बतिरण निषेध हुनु पर्ने वताउँछन् । उनी थप्छन् ‘हुन त जिल्ला प्रशासन कार्यालय, डोटीको गेटमै मदिरा पसल छ, नियमन गर्ने निकाय गाउँसम्म कसरी पुगोस् ।’
मदिराले महिलाहरुलाई असुरक्षित वनाएको कुरामा सहमति जनाउँछिन् गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा ।
मदिराको ईजाजत पत्र रद्द गर्ने अधिकार गाउँपालिकालाई नभएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा वताउँछन् । ‘हामी मदिरालाई नियमन गर्न सक्ने निकाय होईनौं, मदिराको ईजाजत पत्र कोष तथा लेखा नियन्त्रण कार्यायलले दिन्छ’ अध्यक्ष ओझाले भने ‘प्रशासन, प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालयले मदिरा नियन्त्रणका लागि पहल गर्नु पर्ने हो ।’ सवै सरोकारवालाहरुको चाँसो भयो भने गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र वताउनका लागि पहल गर्न सकिने उनले वताए ।
