

३० भाद्र, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले घरमा भएको छाउगोठ भत्काउनु पर्ने शर्त अघि सारेको छ ।
पार्टीको कैलाली जिल्ला समितिले आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक कार्यकर्ताको घरमा छाउगोठ रहेको पाईएमा उम्मेदवार नवनाउने निर्णय गरेको छ । हाल घरमा रहेको छाउगोठ एक महिनाभित्र भत्काउनुपर्ने शर्त जिल्ला समितिले अघि सारेको छ । रास्वपा कैलाली जिल्ला सभापति कविन्द्र ठकुल्लाका अनुसार तोकिएको अवधिभित्र छाउगोठ नभत्काए त्यस्ता व्यक्तिलाई आगामी निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस नगर्ने निर्णय भएको छ । त्यस्ता व्यक्तिलाई पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको समेत ठकुल्लाले बताए ।
‘चुरे गाउँपालिकामा बसेको पार्टी जिल्ला समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो’ सभापति ठकुल्लाले भने ‘यो निर्णय गर्नुअघि जिल्लाभर पार्टीका पदाधिकारी तथा सदस्यका घरमा छाउगोठको अवस्था खोजी गरिएको थियो ।’ खोजीका क्रममा धनगढीका केही बस्तीमा समेत छाउगोठ भेटिएको उनले जानकारी दिए ।
छाउगोठको बिषयमा पार्टीले जिल्लाभर खोजी खोजी गरेको ठकुल्लाले जानकारी दिए । ‘धनगढीमै पनि छाउगोठ भेटिए, चुरे र मोहन्याल गाउँपालिकामा त करिब ५० प्रतिशत घरधुरीमा छाउगोठ रहेको अवस्था पाइयो’, उनले भने, ‘अध्ययनका क्रममा यस्तो अवस्था देखिएपछि आफ्नै संगठन र आफ्नै घरबाट अभियान सुरु गर्ने निर्णय गरेका हौं ।’
पार्टीको उक्त निर्णयपछि केही पार्टी सदस्य तथा पदाधिकारीले छाउगोठ भत्काइसकेको ठकुल्लाले दावी गरेका छन् । बाँकी घरको अवस्थाबारे पार्टीले विवरण संकलन गरिरहेको छ । पार्टीले सामाजिक कुरीतिविरुद्ध सार्वजनिक रूपमा आवाज उठाउने मात्र नभई त्यसको अभ्यास आफ्नै संगठनबाट सुरु गर्न खोजेको ठकुल्लाको दावी छ । ‘यो अभियान कुनै व्यक्ति वा समुदायलाई लक्षित गरेर सञ्चालन गरिएको होईन’ उनले भने ‘हामीले सामाजिक कुरीति अन्त्य गर्ने हो भने सुरुवात आफ्नै घर र आफ्नै संगठनबाट गर्नुपर्छ भन्ने उद्देश्यले गरिएको हो ।’
सुदूरपश्चिम प्रदेशका बिभिन्न पहाडी जिल्लाहरुबाट कैलालीको तराई क्षेत्रमा बसाइँ सरेर आएका केही परिवारमा समेत छाउगोठ कायम रहेको पाइएको पार्टीको दाबी छ । धनगढीका केही बस्तीमा समेत केही दिनअघि छाउगोठ भत्काउने विषयमा विवाद भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा भने छाउपडी प्रथा अझै चुनौतीका रूपमा रहेको छ ।
महिनावारी भएका बेला छाउगोठमा बस्दा महिलाहरु असुरक्षित हुने भएकाले उक्त अभियान चलाउनु परेको रास्वपा कैलालीले जनाएको छ । ‘सर्प तथा अन्य विषालु जीवजन्तुको टोकाइ, चिसो–तातो मौसम, स्वास्थ्य समस्या र सुरक्षा जोखिमलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको हो’ जिल्ला सभापति ठकुल्लाले भने ‘विगतमा छाउगोठमा बसेकै अवस्थामा धेरै महिलाहरुले ज्यान गुमाउनु परेका घटनाहरु सार्वजनिक भएका छन् ।’

