
असोज २८, डोटी । डोटीमा बोलेरो जिप दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम स्थित दिपायल सिलगढी नगरपालिका–६ नाचनथली स्वास्थ्य कार्यालय नजिकै जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधवार साँझ करिब ५:१० बजे जिल्ला अस्पताल डोटीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११९३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल खसेको हो । अछामको चौरपाटी गाउँपालिका–२ सोकडका २२ वर्षीय कर्णबहादुर साउदले चलाएको उक्त जिपमा चालकसहित छ जना सवार थिए । दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया भागीदेवी साउद घाइते भएकी छिन् ।
घाइते साउदको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । जिपमा सवार अन्य पाँच जना भने सकुशल रहेका छन् ।

