
१४ कात्तिक, डोटी। बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।
स्वास्थ्य केन्द्रको भवन उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा विवाद भएपछि गोली चलेको हो । गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । अन्सारीको बिपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो ।
गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन । प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक पुष्टि भने गरेको छैन ।

इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए।
संघीय सरकारको लगानीमा फेटा गाउँपालिका–३ मा निर्माण भएको स्वास्थ्य केन्द्रको भवन कसले उद्घाटन गर्ने भन्ने विषयमा विवाद भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।
गाउँपालिका अध्यक्ष अन्सारीले एमाले कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको बताएका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको उनको आरोप छ ।

