
११ कात्तिक, डोटी । कैलालीको धनगढीकी एक युवती मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान र सासुलाइ पक्राउ गरेकाे छ ।
शुक्रवार धनगढी उपमहानगरपालिका–६ मट्यारीकी कविता जाेशी (पाठक) आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । कवितालाइ यातना दिइ मर्न बाध्य वनाएको भन्दै माइती पक्षले उनका श्रीमान् सरोज पाठक र सासुआमा कमलादेवी पाठक बिरूद्ध आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेपछि दुवैलाइ आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले दुवै जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको वताए ।
बझाङको बुंगल नगरपालिका–४ तमतोली माइती घर भएकी कविताले करीव ११ महिनाअघि (२०८२ मंसिरमा) सरोज पाठक प्रेम विवाह गरेकी थिइन् । तर, विवाह गरेको वर्ष दिन नपुग्दै कविताको मृत्यु भयो । प्रहरीले झुण्डिएको अवस्थामा कविताको शव फेला परेकाे दावी गरेपनि माइती पक्षले भने संका व्यक्त गरेकाे छ ।


श्रीमान र सासुसहितले कवितालाई यातना दिने गरेको माइती पक्षको आरोप छ । कवितामाथी विभिन्न लान्छना लगाउने, कुटपिट गर्ने, मानसिक यातना दिने गरेको उनीहरूको दावी छ । आफुहरूलाइ कविताको शव समेत हेर्न नदिइ दाहसंस्कार गरिएको उनीहरूले गुनासाे गरे । सेती प्रादेशिक अस्पतालमा नन्दका परिवारले आफ्नो समेत फर्जी हस्ताक्षर गरि शव बुझेर अन्त्येष्टि गरेको कविताकी भाउजु तुलसी जोशीले आरोप लगाइन् ।
बहिनीका घरका व्यक्तिले शव समेत हेर्न नदिएको कविताका दाजु सत्यराज जोशी वताउँछन् । घटना भएपछि बझाङबाट धनगढी पुगेका उनी भन्छन् ‘माइती पक्षलाई शव हेर्न नदिनु कतै बहिनीलाई कुटपिट गरेर हत्या गरिएको हो की भन्ने शंका पनि लागेको छ।’
प्रहरीले भने कविताको शव घरकै कोठामा झुन्डिएको अवस्थामा फेला पारेर माइती पक्ष समेतको सहमतिमा उठाइएको दावी गरेको छ ।

