
कार्तिक ९, डोटी । वरिपरि बनमारा, कुरी, कुर्जा लगायतका झारहरूले घेरिएको छ । वर्षाको बेला छतबाट चुहिएको पानीले वाल रुझाइरहेको छ । झारले भूईतला सलक्कै ढाकेको छ । तर पनि झारको बिचमा ठिङ्ङ उभिएको छ । सायद मालिक आउने बाटो कुरिरहेको छ यसले ।
बोगटान फुड्सिल गाउँपालिका–७ मा रहेको यो घर लामो समयदेखि अभिभावकविहीन भएको छ । घरधनी बसाई सरेर तराईतिर गएपछि तिन तले यो घर जीर्ण बन्दै गएको छ । यो एउटा घर मात्रै हैन अभिभावकविहीन बनेको, बोगटानमा यस्ता सयौँ घरहरू जीर्ण बन्दै छन् ।
बसाइसराइका कारण गाउँ नै सुनसान भएको स्थानीयबासीहरु बताउँछन् । ‘उहिले गाउँमा धेरै मान्छे हुन्थे, कामको सिलसिलामा बाहिर गएकाहरू पनि दसैँ तिहारमा घर आउँथे’ डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ का बालासिंह गड्सिला ‘चाडपर्वको बेला अर्कै चलह पहल हुन्थ्यो गाउँमा । अचेल वल्लो घर हेर्यो, खाली छ, पल्लो घर हेर्यो खाली छ । चाडपर्वमा पनि खासै रमाइलो हुँदैन गाउँमा ।’
बसाइसराइ सँगै चाडपर्वको रौनक पनि हराइरहेको उनी बताउँछन् । उनका अनुसार विगतमा रोजगारी वा अन्य काम विशेषले बाहिर रहेकाहरू पनि चाडपर्व मनाउन गाउँ आउँथे, अचेल खासै कोही आउँदैनन् । गाउँपालिकाको केन्द्र रहेको चवरामा चिया पसल गर्दै आएका उनी केही वर्ष यता तीव्र बसाइसराइ भइरहेको बताउँछन् । ‘श्रीमान्–श्रीमती दुवै रोजगारीका लागि भारत जान्छन्, दुवै मेहनत गरेर पैसा कमाउँछन्’ बालासिंह भन्छन् ‘उतैबाट आएर कैलाली कञ्चनपुरतिर जग्गा किन्छन्, घर बनाउँछन् ।’
गाउँमा रोजगारीको अभाव, जङ्गली जनावरले खेती नष्ट गर्ने र शिक्षा, स्वास्थ्य, यातायात लगायतका अत्यावश्यक सेवामा सहज पहुँच नहुनु बसाई जानुको मुख्य कारण रहेको उनी बताउँछन् । केही त देखासिकी पनि भइरहेको छ, सबै मल्वार गई सके, म मात्रै बाँकी रहेँ भनेर आत्तिन्छन्’ बालासिंह थप्छन् ‘त्यसपछि गाउँमा भएको फलफूलवारि, उर्वरक जमिन, भएको घर छोडेर तराईमा आधा कट्टा जमिन किनेर बस्छन् ।’

पछिल्लो समय महिलाहरू पनि रोजगारीका लागि भारत जान थालेपछि गाउँमा मान्छे नै नदेखिने अवस्था रहेको स्थानीय उपेन्द्र धामी बताउँछन् । ‘गाउँमा बुढापाका र बालबालिकाहरू मात्रै देखिन्छन्’ धामी भन्छन् ‘मलामी जाने मान्छे पनि खोज्नु पर्ने अवस्था छ ।’ श्रीमान् श्रीमती दुवै रोजगारीका लागि भारत जाने तर छोराछोरीलाई घरमै छोडेर जाने भएकाले बालबालिकाहरूको पढाई पनि बिग्रिरहेको धामीले बताए । उनी बालबालिकाहरूको भविष्य बिग्रिने चिन्ता गर्छन् ।
गाउँ बस्ती खाली भएर खेतीयोग्य जमिन बाँझो रहेको बताउँछन् स्थानीय निसान बोहरा । बसाइसराइकै कारण विद्यालयमा विद्यार्थी सङ्ख्या पनि घटेको उनी बताउँछन् । बसाइसराइ बढ्दै गएर सबै जमिन बाझिएँ स्थानीय उत्पादन लोप भएर जाने चिन्ता व्यक्त गर्छन् बोगटान फुड्सिल गाउँपालिका–६ का एक किसान । उनी भन्छन् ‘बोगटान मौलिक उत्पादन केरा, सुन्तला, अदुवा, बेसार, कागती, मह पनि हराउने पो हो कि !’ उनी बसाइसराइको मुख्य कारण जङ्गली जनावर देख्छन् । उनी थप्छन् ‘खेती लगायो, दिउँसो बाँदरले खान्छ, राती बँदेलले अनि के गर्नु त !’
पाँच वर्षमा १०५५ परिवार बसाई सरि गए
बोगटान फुड्सिल गाउँपालिकाको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा गाउँपालिकाबाट एक हजार ५५ परिवारले बसाई सराइको प्रमाण पत्र लिएका छन् । ती परिवारबाट तीन हजार पाँच सय ४३ जना बसाई सरि गएका छन् ।
२०७८/०७९ मा यस पालिकाबाट एक सय ६८ परिवारका पाँच सय ७१ जनाले बसाई सराई गरेका छन् । यस्तै, ०७९/०८० मा दुई सय ३० परिवारका सात सय ८१, ०८०/०८१ मा एक सय ५९ परिवारका पाँच सय ४०, ०८१/०८२ मा दुई य २२ परिवारका ६ सय ८८ र ०८२/०८३ मा दुई सय ७३ परिवारका नौ सय ६३ जना बसाई सरी गएका छन् ।
यस अवधिमा सबैभन्दा बढी वडा नम्बर ७ बाट बसाई सरी गएका छन् । यस वडाबाट दुई सय ३७ परिवारका ६ सय ६९ जनाले बसाइसराइको प्रमाण पत्र लिएको गाउँपालिकाको पञ्जीकरण शाखामा कार्यरत रमेश पाठकले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम बसाइसराइ वडा नम्बर ५ बाट भएको छ । यस वडाबाट ७६ परिवारका दुई सय ८७ बसाई सरि गएका छन् । यस्तै, १ नम्बर बाट एक सय ४९ परिवारका चार सय ९९ जना, २ बाट एक सय २३ परिवारका चार सय ३५, वडा नम्बर ३ बाट एक सय ८० परिवारका पाँच सय ३९, वडा नम्बर ४ बाट एक सय ४३ परिवारका पाँच सय ३७ र वडा नम्बर ६ बाट एक सय ४७ परिवारका पाँच सय ७७ जना बसाई सरि गएका छन् ।

