दशैं मनाउन आएका नेपालीहरुलाई भारत फर्किन हतारो

Sayalb

७ कात्तिक, डोटी । डोटीको सायल गाउँपालिकाका ३४ बर्षीय बिरभान बोहरा शनिवार दिउसो बुडर बजारमा भेटिए । निधारमा रातो टिका र कानमा जमरा सिउरिएका उनको अनुहार भने मलिन छ । भारतको पञ्जावमा रोजगारी गर्ने उनी १२ दिनअघि मात्रै दशैं मनाउन घर आएका थिए । रोजगारदाताले दिएको बिदा सकिन लागेपछि उनलाई भारत फर्किन हतारो थियो ।
‘एक बर्ष पहिले कुलदेउतालाई भाकल गरेको थिएँ, भाकल पुगेपछि अष्ठमीमा बोको बलि दिन आएको हुँ’ उनी भन्छन् ‘१५ दिनको मात्रै बिदा हो, त्यसैले फर्किन लागे ।’ घरमा खेतीपाती भित्राउने चटारो छ, केही दिनमै फेरी हिउँदे बाली लगाउने चटारो हुनेछ, परदेशीएका साथीसंगीहरु पनि दशैं मनाउनकै लागि घर आएका छन्, रमाईलो बातावरण छ । एकातिर कामको चटारो, अर्कोतिर बर्षौंपछि भेटेका दौतरीहरु, बिरभानलाइ छोड्न त मन थिएन तर के गर्नु, एक दिन ढिलो गरे भएको रोजगारी पनि गुम्ला भन्ने पीर । त्यसैले उनी बिहानै आफन्तको घर गएर टिका जमरा लगाउँदै मुग्लानको यात्रामा लागे ।
बझाङको बित्थड चीर गाउँपालिकाका ४१ बषीय राम कामीलाई पनि तोकिएकै समयमा ड्यूटीमा हाजिर हुनु छ । भारत, उत्तरप्रदेशको गाजियावादमा एक कम्पनीको वाच्मैन (सुरक्षा गार्ड) को काम गर्ने राम बुडरको एक होटेलमा खाना खाँदै थिए । उनी दशैंको टिका थापेर भारत जान घरबाट निक्सेको वताउँछन् ।
‘खेतीपातीले मात्रै गुजारा चल्दैन, एक त पाखो जमिन, त्यो पनि थोरै, कहिले असिनापानी चुट्ने, कहिले जंगली जनावारले मास्ने’ राम भन्छन् ‘त्यसैले परिवारको छाक टार्न भारत जाँदैछु ।’ उनी नेपालमा रोजगारीको सम्भावना नभएपछि भारत जान वाध्य भएको वताउँछन् ।
बिरभान र रामे मात्रै हैन, सयौं बिरभानहरु र रामेहरु नेपाल—भारत नाकामा भेटिन्छन् । भारतमा भएको रोजगारी गुम्ने डरले राम्रोसंग दशैं नमनाएरै फर्किन बाध्य छन् उनीहरु । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बासिन्दाहरु समेत निधारभरी टिकासंगै मनभरी पीडा बोकेर भारत पस्दैछन् ।
कैलालीको त्रिगर नाकाबाट शनिवार मात्रै एक हजार ५०० भन्दा बढी नेपाली भारत गए । यस्तै कञ्चनपुरबाट पनि करीव एक हजारको संख्यामा रोजगारीका लागि मुग्लान पसेका छन् । आफन्तहरुसंगै दशैं मनाउन भन्दै हतारहतार घर आएका उनीहरु फेरी हतार गर्दै फर्किन थालेका छन् ।
आफ्नै देशमा गरी खाने वातावरण भएका कारण हतारहतारमा फेरी उतै (भारत) फर्किनु परेको अछाम चौरपाटी गाउँपालिकाका ५१ बर्षीय शग्राम साउँद वताउँछन् । ‘दशैं मान्न आईयो, दशैं सकियो फर्किएँ’ २६ बर्षदेखि महाराष्ट्रको पुणेमा रोजगारी गर्दै आएका शग्राम भन्छन् ‘घर परिवार छोडेर अर्काको देशमा पसिना बगाउनु आफुहरुलाई रहर छैन, यो वाध्यता हो ।’ शुक्रवार कैलालीको अत्तरियामा भेटिएका शग्राम घटस्थापनाको अघिल्लो दिन घर पुगेका थिए । पिठ्यूमा सानो झोला भिरेका उनलाई मंगलवार जसरी पनि ड्यूटीमा हाजिर हुनु पर्ने बाध्यता छ ।
घरबाट निस्कँदा श्रीमती र छोरीहरुले आँशु झलझली सम्झिरहेका छन् उनी । ‘उनीहरुका अगाडी त मन बलियो वनाएँ तर अलि वर आईसकेपछि डाको छोडेर रोएँ’ उनी भन्छन् ‘कलिलै उमेरमा भारत पसेको हुँ ५१ बर्षको भईसक्दा पनि उस्तै हालत छ ।’ शग्रामका छोरा पनि रोजगारीकै लागि भारतमै छन् । उनको प्रश्न थियो ‘आफ्नो देशको माटो छोडेर कति पुस्ताले यसरी भौतारिनु पर्ने हो ?’ निन्याउरो स्वरमा ‘म जान्छु’ भन्दै कञ्चनपुरको गड्डाचौकीतिर लागे उनी ।

Shaileshwori
Bolpatra
Loading...