यस कारण पर्दैन प्रहरी कर्मचारीहरुको रोजाईमा डोटी

“डडेल्धुरा जिल्लामा कार्यरत प्रहरीले दुई सय ७६ रुपैयाँ रासन भत्ता पाउँछन्, डोटीमा कार्यरतले दुई सय १० रुपैयाँ मात्रै पाउँछन्, अनि किन डोटी आउनु त !”
जिल्ला प्रहरी कार्यालय, डोटीमा कार्यरत एक प्रहरी कर्मचारीको दुखेसो हो यो । डोटीमा रासन स्केल सुदूरपश्चिमका अन्य पहाडी जिल्लामध्ये सवैभन्दा कम भएको उनको भनाई छ । उनी थप्छन् ‘खानलाई पनि नपुग्ने गरी रासन भत्ता छ, त्यसैले प्रहरी कर्मचारीहरु भरसक डोटी आउन मान्दैनन् ।’ उनी डोटीमै घर भएकाहरु घर पायक हुन्छ भनेर आउने गरेको वताउँछन् । ‘अरु त सरुवा भईहालेपछि बाध्य भएर आउने हुन्, ति प्रहरी कर्मचारी थप्छन् ‘डोटी जान्छु भनेर कोही आउँदैन ।’
आफुले करीव २० बर्षको जागिरे जीवनमा ९ जिल्लाको अनुभव गरेको बताउने उनी शान्ति सुरक्षाका हिसावले डोटी अन्य जिल्लाभन्दा सहज भएपनि यहाँ आकर्षक सुविधा नभएका कारण प्रहरी कर्मचारीको रोजाईमा नपर्ने गरेको वताउँछन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक सागर बोहरा सुदूरपश्चिममा सात पहाडी जिल्लामध्ये रासन स्केल सवैभन्दा कम डोटीमा रहेको वताउँछन् । उनी भन्छन् ‘डोटीमा दैनिक दुई सय १० रुपैयाँ रासन भत्ता पाईन्छ, हाम्रो र कञ्चनपुर जिल्लाको रासन स्केले बरावर छ ।’ रासन स्केलकै कारण प्रहरी कर्मचारीहरुको रोजाईमा डोटी नपर्ने गरेको बोहरा पनि स्वीकार गर्छन् ।
‘सुरुवा भईहाल्यो भने त आउनै पर्छ, जाँदैन् भन्न पाईदैन’ प्रहरी उपरीक्षक बोहरा भन्छन् ‘तर आफैले रोजेर म डोटी जान्छु भन्नेहरु कमै हुन्छन् ।’ घर पायक हुने भएकाले डोटीकै प्रहरी कर्मचारीले डोटी रोज्ने गरेको बोहराको भनाई छ ।

Sayalb

४२६ मा ३२० कार्यरत
जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको सूचना अनुसार डोटी जिल्लामा प्रहरी कर्मचारीहरुको कुल स्वीकृत दरवन्दी चार सय २६ जना रहेको छ । यसमध्ये हाल तीन सय २० जना कार्यरत रहेका छन् ।
‘नौ जना ट्राफिक प्रहरी सहित जिल्लाको कुल दरवन्दी चार सय २६ जना हो’ प्रहरी उपरीक्षक बोहरा भन्छन् ‘यसमध्ये हालको रुजु हाजिरी (हाजिर भएका) तीन सय २० जनाको छ ।’ बोहराका अनुसार नयाँ भर्ना भई डोटीमा दरवन्दी भएका केही प्रहरी जवानहरु आधारभूत तालिम लिदैछन् । केही सुरुवा भएर आएका छन् तर रमाना लिईसकेका छैनन्, त्यसैले खाली देखिन्छ, केही राजीना गरेर गएका छन्, उनीहरूको ठाउँमा नयाँ आउन बाँकी छ ।
बोहराका अनुसार जिल्लामा ५ अस्थायी प्रहरी पोष्ट/बिटहरु रहेका छन् । ति पोष्टहरुका लागि दरवन्दी सिर्जना भएको छैन । दरवन्दी सिर्जना नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालयबाटै प्रहरी कर्मचारी व्यवस्थापन भईरहेको उनको भनाई छ । यस्तै, डोटीमा रहेको बाल सुधार गृहमा पनि सुरक्षाकर्मीको दरवन्दी छैन । बाल सुधार गृहका लागि पनि साविक दरवन्दीबाटै व्यवस्थापन गर्नु परेको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।

Shaileshwori
Bolpatra
Loading...