

१० कात्तिक, डोटी । सुदूरपश्चिम प्रदेशभित्र असोज महिनामा दुई सय ३५ सवारी साधन दुर्भटना भएका छन् । दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीले दिएको जानकारी अनुसार दुर्घटनामा तीन सय २१ सवारी साधन संलग्न भएका थिए । दुर्घटनामा तीन सय ६३ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार सवैभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण भएका छन् । एक महिनामा भएका दुई सय ३५ सवारी दुर्घटनाहरुमध्ये दुई सय आठ दुर्घटना चालकको लापरवाहीका कारण भएका छन् । यो संख्या सो अवधीमा दुर्घटना भएका कुल संख्याको ८८.५१ प्रतिशत हो । यस्तै सवारी साधनको कारण ९, मादक पदार्थ सेवन गरेका कारण ६ र यात्रुको कारण एक सवारी दुर्घटना भएका छन् । पैदल यात्रुको कारण दुई, सडकको कारण चार र चौपायाको कारण् पाँच सवारी दुर्घटना भएका प्रहरीले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।
प्रहरीले यस अवधीमा तीन हजार नौ सय तीन सवारी साधनहरुलाई कारवाही गरेको छ । कारवाहीबाट ३३ लाख ८६ हजार पाँच सय रुपैयाँ जरिवाना संकलन भएको छ । सवारी दुर्घटना हुँदा तत्काल प्रहरी परिचालन गरी घाईतेहरुलाई तत्काल उद्दार गरी उपचारका लागि अस्पताल पठाउने र दुर्घटनाको अनुसन्धान गर्ने कार्य भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस प्रदेशमा भदौ महिनामा सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

