
१० कात्तिक, डोटी । चट्याङ, हावाहुरी र बर्षात्को जोखिम रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीक–रण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै खाडीमा रहेको अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएकोले तीन दिन सतर्कता अपनाउन आग्रह गरेको हो । चक्रवातका कारण कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने र यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिम पहिरोको उच्च जोखिम रहेको समेत जनाएको छ ।
प्राधिकरणले यस अवधीमा धानबाली काट्ने, भित्राउने लगायतका कृषि कार्य नगर्न नगराउन आग्रह गरेको छ । यस्तै, पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजान, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन, आवश्यक परेमा पूर्व जानकारी पराई सवारी आवागमन बन्द गर्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।

