जिप्रका डोटीद्धारा चाडपर्वलाई मध्येनजर गर्दै सुचना जारी

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले चाडपर्वलाई मध्येनजर गर्दै पाँच बुँदे सुचना जारी गरेको छ । जिल्लामा कोरोना भाईरस कोभिड १९ का संक्रमित दिनानुदिन बढ्न थालेको र दशैँ, तिहार तथा छठ पर्वमा मानिसहरुको आवतजावत हुने तथा भिडभाड बढ्ने भएकाले कोरोना संक्रमणको जोखिम अझ बढी हुने भएकाले कोरोना संक्रमण फैलन नदिने भन्दै सोमबार एक सुचना जारी गरेको छ ।

अत्यावस्यक काम परेमा बाहेक आवतजावत र हिड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सीमित संख्यामा परिवारका सदस्यहरु बिच चाडपर्व मनाउन, भिडभाड हुने किसिमका खेलकुद, शुभकामना आदानप्रदान, मेला, जात्रा नगर्न, जिल्लामा रहेका शक्तिपिठ तथा मठ मन्दिरमा नित्य पूजा बाहेक अन्य धार्मीक तथा सांस्कृतिक जस्ता भिडभाड हुने गतिबिधिहरु नगर्न प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईद्धारा हस्ताक्षर गरिएको सुचनामा भनिएको छ ।
त्यस्तै उक्त सुचानामा पिसिआर परिक्षणका लागी स्वाब नमुना दिएका व्यक्तिहरुले परिक्षण नतिजा प्राप्त नहुन्जेल अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्न, कोरोना रिपोर्ट पोजेटिभ आएका व्यक्ति लक्षण नलेखिए पनि न्युनतम तोकीएको आईसोलेसनमा बस्न, भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न, भिडभाडमा नजान र स्वास्थ्य सुरक्षाका मापडण्डहरुको परिपालना गरी कोरोना बाट आफु बच्न तथा अरुलाई बचाउन भनिएको छ ।
