शैलेश्वरी मन्दिरमा कोटि होम महायज्ञ सञ्चालन हुने

शिव पार्वतीले लामो समय बिताएको शैलेश्वरी क्षेत्र

असार ७, डोटी । डोटी जिल्लाको सदरमुकाम सिलगढीको मध्य भागमा अवस्थित प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल शैलेश्वरी मन्दिरमा कोटी होम महायज्ञ सञ्चालन हुने भएको छ । शनिवार शैलेश्वरी क्षेत्र विकास समितिले एक भेलाको आयोजना गरी आगामी माघ २८ गतेदेखि फागुन १० गतेसम्म कोटी होम महायज्ञ सञ्चालन हुने जानकारी दिएको छ ।

प्रत्येक १२ वर्षमा लाग्ने कोटी होमको तयारी स्वरूप सरोकारवालाको उपस्थितिमा मन्दिर प्राङ्गणमा भेला सम्पन्न भएको हो । भेलाबाट शैलेश्वरी मन्दिरका मुख्य पुजारी तथा शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टको संयोजकत्वमा एक हजार एक सदस्यीय कोटी होम महायज्ञ मूल समारोह समिति गठन गरिएको छ ।

साथै १७ ओटा उपसमिति गठन गर्ने निर्णय गरिएको छ । आर्थिक व्यवस्थापन, भण्डार व्यवस्थापन, भोजन तथा आवास, अतिथि सत्कार, मन्दिर परिसर व्यवस्थापन, प्रचारप्रसार, भजनकिर्तन, बाजा व्यवस्थापन, मण्डप निर्माण तथा मर्मत सम्भार, ब्राह्मण व्यवस्थापन, भक्तजन व्यवस्थापन, दान दातव्य व्यवस्थापन, सचिवालय, कलश व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, सम्मान पत्र व्यवस्थापन र योग सञ्चालन उपसमितिहरू गठन गरिने भएका छन् । उपसमितिहरूलाई १५ दिन भित्र पूर्णता दिने निर्णय गरिएको छ ।

मन्दिरको उत्पत्ति
यो मन्दिरको उत्पत्ति सत्य युगमा भएको मानिन्छ । सत्य युगमा सीता नदी (हालको सेती नदी) मार्ग हुँदै भगवान् शिव र माता पार्वतीले विवाह पश्चात् मधुचन्द्रिकाका निम्ति हालको डोटी जिल्लामा अवस्थित रमणीय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो । महापुराणमा उल्लेख गरिए अनुसार चन्द्रगिरी पर्वत हालको सिलगढी विभिन्न धातु सुन, चाँदी, हिरा, विभिन्न प्रकारका वृक्ष लगायतका प्राकृतिक दृष्टिकोणले रमणीय थियो । यो क्षेत्रले भगवान् शिव र माता पार्वतीलाई लोभ्यायो र मधुचन्द्रिकाका निम्ति यहाँ बस्नुभयो । उहाँहरू बसेको लामो समय भइसकेपछि ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान् शिवको खोजी गर्दै यहाँ आइपुग्दा बिहारको अवस्थामा नग्न रहेकी माता पार्वती देवताहरूलाई देखेर लज्जास्वरुप शिला बन्नुभयो ।

लामो समयपश्चात् महादेवको दर्शन पाएका देवताहरू श्रद्धापूर्वक महादेवको स्तुति गर्न तम्तयार भए । आफ्नो आराधनाका लागि तयार रहेका ब्रम्हादि देवताहरूलाई आफ्नो भन्दा पहिले त्यही शिलामा लुप्त हुन पुगेकी माता पार्वतीको आराधना गर्न महादेवले इसारा गरे । महादेवको इसाराअनुसार देवताहरूले पनि माता पार्वतीको आराधना गरे । ब्रम्हादि देवताहरूको स्तुति आराधनाबाट प्रसन्न भएकी माता पार्वती रातो वस्त्र तथा तेज स्वरूपमा महादेवको वाम भागमा प्रकट भइन । देवताहरूलाई वरदानको लागि आग्रह गरिन् । उनीहरूले आफूले गरेको माता पार्वतीको स्तुति र स्तोत्रपाठ गर्ने मनुष्यको मनोकामना पूर्ण होओस् भन्ने वरदान मागे साथै माता पार्वती र महादेवलाई कैलाशमै गएर विराजमान हुन आग्रह गरे । पार्वतीले देवताहरूको आग्रह अनुसारको वर प्रदान गरिन् । अनि आफ्नो पूजा अर्चनाको विधि विधान समेत बताइन् । श्रीमहादेव बिना आफू अधुरो र अपुरो हुने भएकोले आफू लुप्त भएर बसेको उक्त शिलामा आधा शक्ति महादेवको पनि लुप्त गराइदिन आग्रह गरिन् । माता पार्वतीको आग्रह अनुसार महादेव पनि उक्त शिलामा आफ्नो आधा शक्ति लुप्त गराई ब्रम्हादि देवताहरूका साथ कैलाशतर्फ लाग्नुभयो । यसरी आधा शक्ति पार्वती र आधा शक्ति महादेवबाट लुप्त गराइएको शिलालाई अर्ध नारीश्वरको रूपमा मान्ने चलन चल्यो । माता पार्वती शिलामा प्रवेश गरेकी हुँदा यस शक्ति पीठको नाम शिलादेवी रहन गयो । यहाँका स्थानीयहरू शैलेश्वरीलाई शिलादेवी भनेर पनि पुकार्दछन् ।

Sayalb

पूजा अर्चना
यस मन्दिरमा प्रत्येक दिन साँझ र बिहान पूजापाठ गरिन्छ । प्रत्येक दिन पूजा गर्न सकिने भए पनि विशेष गरेर वर्षको जेठ, कार्तिक र माग पूर्णिमाका दिन शैलेश्वरी माताको पर्व पूजा गरिन्छ । यी दिनहरूमा यहाँ मेला समेत लाग्ने गर्दछ । शैलेश्वरी मन्दिरका पुजारीका अनुसार यहाँ प्रत्येक १२ वर्षमा कोटी होम महायज्ञ लाग्ने गर्छ । १ सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ । शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरू पनि छन् । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन् । माता शैलेश्वरीको पूजाआजा गर्दा मन्दिरको चारैतिर रहेका अन्य देवगणको पनि पूजा गरिन्छ । शैलेश्वरी भगवती र यिनका वरिपरि रहेका देवगणको पूजा आराधना पश्चात् शैलेश्वरी क्षेत्रभन्दा टाढा रहेका देवीदेवता तथा शक्तिपीठहरुको पनि निशाना लगाई पूजाआजा गर्ने परम्परा रहेको छ । निशाना पूजा भन्नाले टाढा टाढा रहेका देवीदेवता भएको दिशातिर फर्केर पूजा आराधना गर्नु भन्ने बुझिन्छ ।

यसरी निशाना लगाई पूजाआजा गरिने देवी–देवताहरूमा दिल्पेश्वर, योगेश्वर, ध्रुवेश्वर, तेडीमहादेव, उग्रतारा, त्रिपुरासुन्दरी, पूर्णा गिरी, सुना देवी, मालिकादेवी, दुर्गादेवी, वाराहीदेवी, दाडेमष्टा आदि रहेका छन् । माता शैलेश्वरीको पूजाआजा तथा पर्वमा सहयोग गर्नका लागि यहाँ १२ वटा गाउँहरू रहेका छन् । जसलाई बाह्र बरेला भन्ने गरिन्छ । बरेला भन्नाले माता शैलेश्वरीको वर प्राप्त भन्ने हुन्छ । ती बाह्र बरेलामा उडीतोला, पाकरी, रातुली, सिलगाउँ, थाप्ला, गैरा, कलेना, धामी गाउँ, पुन्नागाउँ, बागठाँटा, लेकठाँटा र बाँझ रहेका छन् । यी बाह्र बरेलालाई पनि तल्लो पयो र मल्लो पयो गरी २ भागमा विभाजन गरिएको छ । पयो भन्नाले भाग भन्ने हुन्छ । बाह्र बरेलालाई यसरी २ भागमा विभाजन गर्नाको खास कारण देवीको मेला पर्वमा आवश्यक पर्ने सर सामग्री जुटाउन जुन जुन गाउँमा जे जे सामग्री पाइन्छ त्यही सरसामान जुटाउन र कामको खटनपटनको जिम्मा लगाउन सजिलो होस् भन्नका लागि गरिएको देखिन्छ । कलेनालाई आधा आधा गरी तल्लो भेगलाई तल्लो पयोमा र मल्लो भेगलाई मल्लो पयोमा राखिएको पाइन्छ । किनभने तल्लो कलेना भनेको औल क्षेत्र र मल्लो कलेना भनेको लेक क्षेत्र पर्ने भएकोले लेक र औलमा पाइने सरसामान फरक फरक हुने भएको हुँदा एकै गाउँलाई तल्लो र मल्लो पयोमा विभाजन गरिएको हो । यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व
यो धार्मिक स्थल भगवान् शिवको लागि प्रसिद्ध छ । यस मन्दिरभित्र शिवजीको शिला छ । यस मूर्तिलाई शिव र पार्वतीको संयुक्त स्वरूप मानेर पुजिन्छ । शैलेश्वरी मन्दिर पछाडि चण्डेश्वरी भैरव रहेका छन् ।
यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलका रूपमा रहेको छ । यहाँ देवीको नित्य पूजा सिलगाउँ निवासी भट्ट ब्रम्हाणद्वारा गरिन्छ । प्रत्येक वर्ष जेठ र कार्तिक पूर्णिमाका दिन परम्परागत रूपमा प्राचीन कालदेखि नै विशेष पूजा अर्चना (मेला) हुँदै आएको छ ।

दत्तचित्त भई माता शैलेश्वरीको पूजा आराधना र ध्यान गर्नाले मनले चिताएको फल पाइन्छ भन्ने जनआस्था रही आएको छ । शैलेश्वरी मेलामा स्थानीय पञ्चेबाजा सहित स्थानीय मौलिक संस्कृतिहरू देख्न पाइन्छ । शैलेश्वरीको नित्य पूजाका लागि स्थानीय सिल गाउँका भट्ट परिवारका पुजारीहरूलाई जिम्मेवारी दिइएको छ भने अन्य विभिन्न कामको बाँडफाँड गरी बाह्र गाउँका बाह्र बराला (बाह्र वटा गाउँलाई दिइएको जिम्मेवारी) तोकिएको छ ।

यहाँ वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा गरिन्छ । परिवारको सुख शान्तिको लागि चण्डेश्वरीमा बली दिने गरिन्छ । यो मन्दिर खट जात्राको लागि प्रसिद्ध छ । स्थानीय भाषामा यसलाई जात पर्व भनिन्छ । यो जात्रा प्रत्येक वर्षमा कात्र्तिक महिनाको पूर्णिमा तिथिमा लाग्दछ । देओरो (मन्दिरको गरगहना) लाई नाचनथलीसम्म घुमाउने, धामी काम्ने, आगामी वर्षको भविष्य वाणी गर्ने, रात भरी उपबास बस्ने नाच गान गर्ने गर्छन् । यस मन्दिर परिसरमा खट जात्राको समयमा होम गरिन्छ । हरेक १२/१२ वर्षमा कर्कट राशिमा वृहस्पति भएको पञ्चमीदेखि द्वादशीसम्मको समयमा कोटी होम गरिन्छ । मानिसहरूले प्रत्येक वर्षको दसैँको नवरात्री र १२ वर्षे मेला १२ वर्षमा लाग्ने कोटी होममा यस ठाउँको बढी भ्रमण गर्छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरू
स्कन्द पुराणको मानस खण्डमा उल्लेख भएअनुसार शिव विवाहपछि पार्वतीसँग घुम्दै आउने क्रममा यस क्षेत्रको रमणीय दृश्यबाट लोभिएर यसै क्षेत्रमा सयल गर्दै वर्षौँ बिताएको उल्लेख छ । उता स्वर्गमा तारकासुर नामको दैत्यले देवगणहरूलाई आतङ्कित तुल्याउँदा ब्रह्माजीलाई अघि लगाउँदै देवगणहरू भगवान् शिवको खोजीमा यस क्षेत्रमा पुग्दा भगवान् शिव र माता पार्वती कामवासनामा तल्लीन रहेको देखेपछि माता पार्वती लज्जाले शिला पिण्डमा लुक्नु भएको बताइन्छ ।

फलतः शिव र पार्वती एकानुभुति भई विलीन भएपछि अर्धनारीश्वरी शैलेश्वरी भन्ने नाम रहन गएको र ब्रह्माजी सहितको देवगणहरूले नाना स्तुति गर्दा अर्धनारीस्वरी शैलेश्वरीले दर्शन दिएको स्कन्द पुराणको मानस खण्डअन्तर्गत शैलेश्वरी महात्मयमा वर्णित छ । यसरी शिव र पार्वतीले लामो समयसम्म सयल गरेको ठाउँ भएका कारण यसलाई सयलगढी भनियो र पछि उक्त शब्द सिलगढीमा परिणत भएको मानिन्छ । यसै पुण्य भूमिमा १२ वर्षको वनवासपछि अयोध्या फर्की भगवान् रामले अश्वमेध यज्ञ सकेपछि आफ्नो गुरु वसिष्ठको आज्ञाले चन्द्रगिरी पर्वत हालको सिलगढी नगरीमा आई माता शैलेश्वरीको पूजा आराधना गरेपछि माताले दर्शन दिएको पनि स्कन्द पुराणको मानस खण्डमा उल्लेख रहेको छ ।

कसरी पुग्ने ?
यो स्थल डोटी जिल्लाको सदरमुकाम सिलगढीमा रहेको छ । यस जिल्लाको सदरमुकाममा पुग्न कैलाली जिल्लाको अत्तरियाबाट भिमदत्त राजमार्ग र स्याउलेबाट के.आई.सिंह राजमार्ग हुँदै ६/७ घण्टा लाग्दछ ।

Shaileshwori
Loading...