

१७ भाद्र, डोटी . डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनः स्थापनाका लागि थप २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले बाढी पिडितको राहात तथा उद्धारका लागि थप २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसअघि भाद्र ११ गते नगरपालिकाले एक बिज्ञप्ती जारी गरी दुई लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो। बैठकले नगरपालिकाका जनप्रतिनिधि, नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, स्वाथ्य संस्थामा कार्यरत स्थायी, करार, ज्यालादारी कर्मचारी, स्वाथ्यकर्मी तथा शिक्षकहरुको भाद्र महिनाको खाईपाई आएको तलबबाट हुन आउने जम्मा २२ लाख रुपैयाँ उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरपालिका प्रमुख दीर्घवहादुर बलायरले जानकारी दिए । बैठकले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुसल उद्धार एवं घाइतेको स्वास्थ्य उपचारको उचित प्रबन्ध मिलाउन र पीडित परिवारलाई पुनःस्थापनाका लागि उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको बलायरले बताए । त्यस्तै, रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहिन भएका शिखर नगरपालिका-४ का दीपक महराको खोजी र उद्धारमा सहयोग पुर्याउन एक लाख रुपैयाँ सहयोग गर्ने समेत नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ। उक्त रकम महराको परिवारलाई उपलब्ध गराईने निर्णय भएको छ ।

