

१७ भाद्र, डोटी । महिला उद्धार सम्बन्धी । प्रहरीले सोमबार डोटीका छुट्टाछुट्टै ठाउँबाट दुई जना महिलाको उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार केही दिनदेखि जिल्लाको पूर्वीचौकी गाउँपालिका-५ चौखुट्टे बजारमा वेवारिसे अवस्थामा हिडडुल गरिरहेकी एक महिलाको उद्दार गरिएको हो । करीव ३५/४० बर्षकी देखिने ति महिलाले आफ्नो नाम जानकी सार्की बताएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए । नेपाली भाषा बोल्ने ति महिलाको घर ठेगाना खुल्न सकेको छैन। यस्तै, जोरायल गाउँपालिका-४ हाट बजारबाट एक अर्की महिलाको उद्दार गरिएको छ । नाम, ठेगाना खुल्न नसकेकी ति महिला करीव ६६/६७ बर्षकी रहेकी प्रनाउ चन्द बताउँछन् । उनी थारु तथा हिन्दी भाषा बोलिरहेकी चन्दले जानकारी दिए । दुवै महिलाको उद्दार गरी कैलालीको धनगढीमा रहेको मानव सेवा आश्रममा पुर्याइएको प्रनाउ चन्दले बताए । दुवै महिला राम्रोसंग नेपाली नबुझ्ने र राम्रोसंग सुन्न पनि नसक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ ।

