आज हरिबोधनी एकादशी : हरिबोधनी एकादशी किन मनाईन्छ ? यस्तो छ महत्व

डोटी : हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यसवर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताए । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।
यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए । । ठूली एकादशीमा गृहिणीहरूले घर आँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् ।
तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता,रातो,पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन रहेकोछ । एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन–‘हे नाथ १ अब हजुर दिन–रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ–करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ ।
अतः हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस् । यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु ।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो–‘देवी’ १ तिमीले ठीक भन्यौ । म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ ।
तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुँदैन । त्यसैले, तिम्रो कथनानुसार आजदेखी म प्रतिवर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु । त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ । मेरो यो निन्द्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ । यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ । यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन तिनको घरमा तिमीसमेत म निवास गर्नेछु । भगवान विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा,शंख,मृदंग आदि वाद्यका मांगलिक ध्वनिका बीच यी श्लोक पढेर जगाउछन् ।

उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।
श्रीहरिलाई जगाए पछि उनको षोडशोपचार विधिले पूजा गर्नुपर्छ । अनेक प्रकारका फलका साथै नैवेद्य ९भोग० निवेदित गर्नुपर्छ । संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम संकीर्तन गर्नाले भगवान विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ ।
विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन रहेकोछ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिप्रवोधिनी ९देवोत्थान० एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनःप्रारम्भ हुन्छन् । पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी–माहात्म्यका अनुसार श्रीहरि प्रबोधिनी ९देवोत्थान० एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ ।
यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जे जस्तो जप–तप, स्नान–दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन् । देवोत्थान एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन रहेकोछ ।
यसै सन्दर्भमा कथा के छ भने जालन्धर नामक असुरकी पत्नी वृंदा पतिव्रता स्त्री थिई,उसलाई आशीर्वाद प्राप्त थियो कि जबसम्म उसका पतिव्रता व्रत भंग हुदैन तबसम्म उसको पति जीवित रहने छ । जलंधर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान विष्णुले जालान्धरको वेश धारण गरी वृंदाका कक्षमा प्रवेश गरे तर उनलाई वृन्दाले चिन्न सकिनन र उनको पतिव्रत भंग भयो ।
वृंदाको पतिव्रत भंग भएपछि जलंधर मारियो । विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाईन, तिनले विष्णुलाई श्राप दिईन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंडकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । त्यसदिनदेखि के मान्यता रहेकोछ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ ।
यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ ।
