हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो ।

मङ्सिर ११ गते नौ र आइतबार ४४ गरेर ५४ जना कोरोना सङ्क्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोनामुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्यचौकीका एचए पेमा छुकी लामाले जानकारी दिए ।
उत्तरी नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण पहिलोपटक कात्तिक २२ गते देखिएको थियो । कात्तिक २४ गते चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको सङ्क्रमण फैलिएर ५६ जनामा सरेको थियो । हुम्लामा पहिलोपटक असोज ३ गते यो सङ्क्रमण देखिएको थियो । हालसम्म ६६ जना सङ्क्रमित देखिएका छन् । अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना चिकित्सक मात्रै सङ्क्रमित छन् । अन्य सबै सङ्क्रमणमुक्त बनेका छन् ।
