शिखरका ११ जना विपन्न परिवारका महिलालाई खाद्यान्न वितरण

सरिता कठायत/डोटी
डोटीको शिखर नगरपालिकाका ११ जना विपन्न परिवारका महिलाहरूलाई खाद्यान्न वितरणमा गरिएको छ । पछिल्लो समय कोरोना महामारीले पारेको असर र लामो समयसम्मको लगडाउनका कारण गरि खाने परिवारहरूलाई साझँ बिहानको छाक टार्न समेत धौधौ परिरहेको छ ।
यस्तो बेला एकल महिला, अपांग, वृद्ध तथा दलित महिलाहरूले भोकै बस्न नपरोस् भनेर मेची महाकाली बुहारी संयुक्त आवाज तथा यस संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको संयुक्त सहयोगमा खाद्यान्न वितरण गरिएको हो । खाद्यान्नमा चामल, दाल, नुन, तेल लगाएतका सामाग्री हस्तान्तरण गरेको हो । १७ हजार ५ सय बराबरको खाद्यान्न सामाग्री मेचीमहाकाली बुहारी संयुक्त आवाज डोटी साखाका संयोजक देवी खड्काको अध्यक्षता र शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीको प्रमुख आतिथ्यमा वितरण गरिएको हो ।

राहात वितरण कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका सदस्य मन्जु खड्का साउद, शिखर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा गुरूङको समेत उपस्थिति रहेको थियोे । सुदूरको डोटी जिल्लामा रहेको शिखर नगरपालिकामा रहेका विपन्न परिवारका महिलाहरूलाई सम्झेर राहत वितरण गरेकोमा मेचीमहाकाली बुहारी संयुक्त आवाज संस्था तथा संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बालाई नगर प्रमुख सिताराम जोशीले धन्यवाद ज्ञापन गर्नुभयो ।
संस्थाले खाद्यान्न सहयोग गरेकोमा धेरै खुसी भएको शिखर नगरपालिका–११ कि कलापती दमाईले बताउनुभयो । भौगोलिक रूपमा बिकट रहेका गाउँठाउँ तथा पिडामा परेका महिला र बालबालिकाहरूको लागि सहयोग गर्ने संस्थाको मुल उदेश्य रहेको संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी दिनुभयो ।
