डोटीमा दुई दिने विपद जोखिम तथा जलवायु अनुकुल सम्बन्धि तालिम सम्पन्न

तेजु ओली/ डोटी
डोटीको दिपायलमा दुई दिने विपद जोखिम तथा जलवायु अनुकुल सम्बन्धि तालिम सम्पन्न भएको छ । कारितास अष्ट्रिया र कारितास नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च सिडिएफ नेपालद्वारा सञ्चालित सामुदायिक उत्थानशिलता सुढृढिकरण परियोजना अन्तर्गत सामुदायिक संस्थाका पदाधिकारीहरुका लागि उक्त दुइ दिने तालिमको आयोजना गरिएको थियो । संस्थाको कार्यक्षेत्र रहेको बाजुरा जिल्लाको बुढिगङ्गा नगरपालिका, डोटीको बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकामा रहेका वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, आमा समुह तथा युवा क्लबका पदाधिकारीलाई उक्त विपद जोखिम तथा जलवायु अनुकुल सम्बन्धि तालिम दिइएको संस्थाका अध्यक्ष खडकराज शर्माले जानकारी दिनुभयो ।


गैरसरकारी संस्था भएकाले सरकारका निति नियमलाइ थप सहयोग गर्ने मात्र भएकाले आगामी दिनहरुमा स्थानीय सरोकारवालालाइ थप बलियो बनाउने उद्देश्य रहेको बताउनु भयो । जिल्लामा शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतका काममा बिगत लामो समयदेखि काम गर्दै आएको उक्त संस्थाले अहिले विपद जोखिम तथा जलवायु अनुकुल सम्बन्धि काम गर्न थालेको बताइएको छ । दिपायलको वर्षा होटेलमा आयोजना गरीएको उक्त दुइ दिने विपद जोखिम तथा जलवायु अनुकुल सम्बन्धितालिममा करितास नेपालको तर्फबाट एससिआर परियोजना संयोजक विबेक गौतम र एससिआर परियोजना डोटीका प्रकोप जोखिम व्यवस्थापन अधिकृत प्रयागराज कापडीले सहजीकरण गर्नु भएको थियो ।

साथै उक्त परियोजनाले परियोजना सञ्चालित भएका क्षेत्रमा ४० वटा कृषक समूह गठन तथा पुनरगठन गरी उक्त समुहहरुमा समेत प्रकोप जोखिम न्यूनीकरण र जलवायु परिवर्तन सम्बन्धी तालिम दिएको उक्त परियोजनाका अनुगमन मुल्यांकन अधिकृत मायाकुमारी बमले जानकारी दिनुभयो । तालिम बाट जलवायु परिवर्तन सम्बन्धी समस्या कारण र यसबाट बच्ने तौर तरिकाको बारेमा जानकारी पाएको सहभागी जय नाथ योगीले बताउनुभयो ।
