पुस १५को मूख्यमन्त्री भट्टद्धारा शुभकामना ब्यक्त

कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुसे १५ पर्व बिहीवार हर्षोल्लासपूर्वक मनाइँदैछ । मौलिक पहिचान बोकेको पुसे १५ पर्वलाई एकआपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रूपमा लिइने गरिन्छ ।

पर्वका अवसरमा गाउँघर तथा टोलमा एकआपसमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, कन्दमूल, पिँडालु लगायत पाकेको फर्सी उसिनेर खाने परम्परा छ । यस्तै लाउन, बाबर, माणा, निसौसे लगायत स्थानीय खानाका मीठामीठा पकवान समेत पकाएर खाने चलन छ । गाउँघरका वृद्धवृद्धाबाट पनि लोक तथा दन्ते कथा सुन्ने रीतिरिवाज छ । विशेषगरी रातभर जाग्राम बसेरै पुसे १५ पर्व मनाउने परम्परा रहे पनि हिजोआज भने समय परिवर्तनसँगै फरकपनाका साथ पनि यो पर्व मनाउन थालिएको छ । यस पर्वमा विवाहित छोरीबेटीलाई माइतीमा बोलाइ सत्कार पनि गरिन्छ । यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेशवासीका नाममा शुभकामना सन्देश दिएका छन् ।
मुख्यमन्त्री भट्टले सन्देशमा भनेका छन्- ‘सुदूरपश्चिम प्रदेश कला संस्कृतिकाे धनि भएकाले हाम्रा परम्परागत रितिरिवाजकाे सकारात्मक पक्षकाे संरक्षण र नव युवा वर्गमा हस्तान्तण गर्न सामुहिक प्रयास आवश्यक हुन्छ ।’ उनले अगाडी भनेका छन्- ‘यस अवसरमा प्रदेशबासी सबैमा शुभकामना ब्यक्त गर्दछु ।’
