बोगटान फुड्सिल गाउँपालिकाद्वारा पाठेघर खसेका महिलाको निःशुल्क उपचार

बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोगमा पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरेको छ । बषौँदेखी पाठेघरको समस्याबाट ग्रसित भएका महिलाहरूको गाउँपालिको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा अप्रेसन गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध निर्देशक आईजंग कुँवरले जानकारी दिनु भएको छ ।
पाँच दिनसम्म जारी रहेको उक्त शिविर वाट बोगटान फुड्सिल गाउँपालिकाका ७ र जिल्लाका अन्य ठाउँका ८ गरी १५ जना महिलाको अप्रेसन गरिएको हो । टिएएच बिधीद्धारा गरिएको अप्रेसनमा प्रति बिरामी चार घण्टा समय लगाएर अप्रेसन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

पाठेघरको खसेका महिला मानसिक तथा शारीरिक समस्या हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठुलो असर गर्ने निर्देशक कुँवरले बताए । उनले भने ‘हाम्रो समाजमा पाठेघर सम्बन्धी समस्या भन्न मान्दैनन् लजाउँछन्, अर्को तर्फ शारीरिक अवस्था कमजोर बन्दै जान्छ ।’ पाठेघर खसेका गाउँपालिका भित्रका महिलाका लागी उपचारको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने ‘पाठेघर खसेर लुकाएर बसेका र आर्थिक अभावका कारण उपचार गर्न नसकेका महिलाका लागी पालिका बाटै उपचारको व्यवस्था गरेका छौँ ।’
जिल्लाका धेरै ठाउँमा यस्ता समस्या भएका सयौँ महिला भए पनि आर्थिक अभाव र भन्न असहजता मानेका कारण अहिले पनि रोग लुकाएर बस्ने गरेका छन् । डाक्टर लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको अप्रेसन गरेर उपचार गरेका हुन ।
