धार्मिक अगुवा र जनप्रतिनिधि बिच संवाद कार्यक्रम सम्पन्न

लाल बहादुर चदारा, अछाम
अछामको मेल्लेख गाउँपालिकामा परम्परागत हानिकारक अभ्यास न्यूनीकरणका लागि धार्मिक अगुवा र जनप्रतिनिधि बिच संवाद कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल मेल्लेखका अध्यक्ष कृपराज भट्टराईको अध्यक्षतामा भएको अन्तर संवाद कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही रहनु भएको थियो ।

उपाध्यक्ष शाहीले कार्यक्रममा बोल्दै समाजमा रहेको कुरीति कु संस्कार अन्त्यको लागि मेल्लेख गाउँपालिकाबाट यश अघि पनि थुप्रै क्रियाकलाप सञ्चालन गरिएको र आगामी दिनमा पनि धार्मिक अगुवा मार्फत सचेतना फैलाउन गाउँपालिकाबाट पूर्ण सहयोग गरिने बताएका छन् । धार्मिक अगुवाहरूको क्षमता वृद्धिका साथै सम्बन्धित सरोकारबालाहरुलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि बताएका छन् ।
वर्ल्ड भिजनको सहयोगमा राष्ट्रिय अन्तर धार्मिक सञ्जालको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य बारे अन्तर धार्मिक सञ्जालका कार्यक्रम अधिकृत डिल बहादुर सिंहले जानकारी गराउनु भएको थियो । कार्यक्रममा ८ वटै वडा का वडा अध्यक्षहरू कार्यपालिका सदस्य, मेल्लेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्का लगायत मेल्लेखका धार्मिक अगुवाहरूको सहभागिता रहेको थियो ।
धार्मिक सञ्जालका जिल्ला अध्यक्ष कविराज जोशीको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन तथा सहजिकरण पत्रकार कर्ण चन्दले गर्नु भएको थियो ।
