आदर्श गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन प्रति काँग्रेस र माओवादीको असन्तुष्टि

डोटीको आदर्श गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५’ विपरीत सञ्चालन गरिएको भन्दै दलहरूले ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली काँग्रेस र माओवादी केन्द्रले आदर्श गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् ।
बेरोजगारलाई रोजगार प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको स्वरोजगार कार्यक्रम गरिब भन्दा पनि समर्थक दलका कार्यकर्तालाई मात्र प्रदान गर्ने गरिएको भन्दै उनीहरूले विरोध गरेका हुन ।

योजना छनौट गर्दा कार्यविधि विपरीत गर्ने गरेको, स्वरोजगारको कार्यक्रम सञ्चालन तथा छनौट गर्दा सर्वदलीय सहमतिमा गर्नु पर्ने, उपभोक्ता गठन गर्दा कार्यविधिको पालना गर्नु पर्ने, योजना कार्यकर्तामुखी भन्दा पनि जनमुखी हुन पर्ने, श्रमिकको बैक खाता अनिवार्य खोल्नु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य योगेन्द्रबहादुर खड्काले बताए । खड्काले भने ‘गरिब निमुखालाई रोजगार प्रदान गर्नका लागी आएको पवित्र कार्यक्रममा तीव्र राजनीतिकरण भयो, हामीले ५ दिन भित्र यी सबै कुरा सुधारका लागी अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छौँ ।’
ज्ञापन पत्र आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायालाई नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विजयराज ओझा र माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य योगेन्द्र खड्काले बुझाएका हुन ।

