डोटीमा एक युवती मृत फेला, हत्याको आशङ्का

डोटीमा एक युवती मृत फेला परेकी छिन् । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ६ को रोक्टान खोला नजिकै २० वर्षीया हरिना भाट मृत फेला परेकी हुन् । अमला लिन भनेर आईतवार बिहान ९ बजे जङ्गल हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला पारेको स्थानीयले बताएका छन् ।
एक महिना अघाडी मात्रै डडेल्धुराको परशुराम नगरपालिका व्यक्ति सँग भागी विवाह गरेकी मृत भाट माइती आएको ४ दिन भएको थियो ।

भाटले प्रयोग गरेको चप्पल र सल बाटो भेटिएको र शव बाटो भन्दा करिब ५ मिटर तल घोप्टे अवस्थामा फेला परेको मृतका मामा नाता पर्ने इन्द्र भट्टले बताएका छन् । लडेर मृत्यु हुन सक्ने कुनै अवस्था नदेखिएको भन्दै मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय डोटीमा बुझ्दा प्रहरी टोली घटना स्थलतर्फ खटिएको र थप विवरण अनुसन्धान पछि मात्रै प्राप्त हुने बताइएको छ ।
