युवती मृत्यु प्रकरण : शङ्कास्पद व्यक्ति धनगढीबाट पक्राउ

डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ६ को रउताने खोला नजिकै २० वर्षीया हरिना भाट मृत फेला परिन् । अमला लिन भनेर आईतवार बिहान ९ बजे जङ्गल हिँडेकी उनी सोही दिन साँझ साढे सात बजे मृत फेला परिन् । उनको मृत्यु नभई हत्या भएको आफन्तले बताएका छन् ।

यस घटनाका शङ्कास्पद व्यक्तिलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । घटनाको बारेमा जानकारी पाएँ लगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको एक टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । अहिले शङ्कास्पद व्यक्तिलाई जिल्लामा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक दान बहादुर मल्लले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी उपरीक्षक मल्लले बताए ।
मृतक भाटको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल डोटीमा ल्याइँदै छ । मृतक भाटले एक महिना पहिले मात्रै डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ का वीरेन्द्र भट्टराईसँग भागी विवाह गरेकी थिइन् । आमा बिरामी भएपछि उनी ४ दिन पहिला भेटघाटको लागि माइती घर आएकी थिइन् ।
