
तेजु ओली, डोटी
गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र सिडिसी नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सोमवार सिलगढीमा आफ्नो कार्य क्षेत्रका गतिविधि सहित आर्थिक वर्ष २०७७/७८ को सामाजिक लेखा परीक्षण कार्यक्रम सरोकारवालाहरूको सहभागितामा सम्पन्न गरेको हो। डोटी जिल्लाका केही स्थानीय तहमा कार्यरत उक्त संस्थाले आफ्नो जिम्मेवारी, त्यसको पालना गर्न भए गरेका प्रयास तथा कार्यसम्पादनको लेखाजोखा गर्न र मार्गदर्शक सुझाव सङ्कलनका लागि सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको जनाएको छ ।
मुख्यतया शिक्षा, बालबालिका, आयआर्जन, जीविकोपार्जन र स्वास्थ्य तथा सरसफाइ लगायतका क्षेत्रमा कार्य गर्दै आएको सो संस्थाले विभिन्न अन्तर्राष्ट्रिय संस्था सँग समन्वय गरेर काम गरिरहेको संस्थाका सूचना अधिकारी एकराज बडुले बताए । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, गुड नेवर्स इन्टरनेशनल नेपाल र विश्व शिक्षा सँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको जनाएको छ । सामाजिक परीक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै दिपायल सिलगढी नगरपालिका उप प्रमुख शिवराज खडकाले संस्थाका गतिविधि राम्रो भएको बताए ।

शिक्षा क्षेत्रमा नगर पालिकालाई महत्त्वपूर्ण सहयोग गर्दै प्रत्यक्ष जनताको आवश्यकता अनुसार सञ्चालन भएको भन्दै यसले नगर बासीलाई सहयोग भएको बताए। त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्काले आफ्नो वडामा रहेको व्याप्त बालविवाह न्यूनीकरणको लागि संस्थाको सहयोग रहेको बताए ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका उप शिव राज खड्का, दिपायल सिलगढी नगरपालिका, आदर्श गाँउपालीका, शिखर नगरपालिका, पुर्वीचौकी गाउँपालिका लगायत चार वटा स्थानीय तहका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरू, सरोकारवाला, विभिन्न सरकारी संस्थाका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, शिक्षक , लाभान्वित समुदाय लगायतले आ–आफ्ना भनाई तथा सुझावहरू औँल्याएका थिए । कार्यक्रमबाट प्राप्त सुझावहरूलाई आत्मसाथ गर्दै आगामी दिनमा सुधार गर्ने संस्थाका अध्यक्ष हेमराज जोशीले प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण पत्रकार गणेश मौनीले गरेका थिए ।
