
तेजु ओली, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाकी बसन्ती आउजी उपचारको पर्खाइमा हुनुहुन्छ । उहाँ हिँड्न सक्नुहुन्न, टाउको बढेको छ तर के रोग लागेको हो त्यो थाहा छैन । घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको छ । अहिले उहाँ २३ वर्षकी भइसक्नु भएको छ । यस्तो समस्याबाट जन्मेदेखि नै ग्रसित हुनुहुन्छ । गाउँको जटिबुटी देखी गाउँमा हुने स्वास्थ्य शिविरमा समेत उहाँको उपचार गरिसकिएको छ, तर २० को १९ भएको छैन । आर्थिक स्रोत नहुँदा ठुलो अस्पतालमा गएर उपचार गर्न नसकिएको उहाँका बुवा नरी आउँजीले बताउनु भयो ।

बसन्तीको टाउको ठुलो भएका कारण खुट्टाले पनि काम गर्न छोड्यो । जसले गर्दा उहाँको स्याहार सुसार अरूले नै गर्नु पर्ने भएको छ । उहाँ आफूले त दुःख पाउनुभएको नै छ साथमा घरका अन्य सदस्यले पनि दुःखको सामना गर्नु परेको आमा कुन्ती आउँजीले बताउनुभयो । महिनावारी भएको बेला आमाले स्याहार्नुहुन्छ, बोल्न त सक्नुहुन्छ तर आफू समस्यामा छु भन्ने नै उहाँलाई थाहा छैन ।
देशका तिनै तहका सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका छन् । तर ग्रामीण भेगका नागरिकहरू भने विभिन्न स्वास्थ्य समस्या झेलिरहेका छन् । उनीहरूले सहज रूपमा सेवा पाएको प्रत्याभूति गर्न नपाएको स्थानीय चक्र साउदले बताउनुभयो ।
बसन्तीलाई उहाँको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण उपचारको लागि सुविधायुक्त अस्पतालमा लैजान सकिरहेको छैन । उहाँको परिवार उहाँ हिँड्न र आफ्नो स्याहार आफै गर्न सक्ने भएको हेर्न चाहन्छ । जसको लागि आर्थिकको आवश्यकता छ ।
