
डोटी : बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न प्रेरित गर्ने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताएका छन् । मानव जीवनसँग जोडिएका निजी घर तथा सार्वजनिक संरचना भूकम्प प्रतिरोधी आवश्यक रहेको अध्यक्ष गड्सिलाले बताए । गडसिलाले भने ‘सरकारी संरचना मात्रै भूकम्प प्रतिरोधी भएर हुँदैन, निजी घरहरू पनि सुरक्षित हुन जरुरी छ अब हामी निजी संरचना सुरक्षित हुन जरुरी छ, हामी आम नागरिकलाई पनि नयाँ संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउन प्रेरित गर्ने गरी काम गर्नेछौँ ।’

भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नका लागी यस भन्दा पहिला बाहिरबाट जनशक्ति ल्याउन पर्नेमा अब स्थानीय स्तरमै उक्त जनशक्ति तयार भएको छ । बोगटान फुड्सिल गाउँपालिकामा सामुदायिक विकास मञ्च डोटीद्वारा सञ्चालित सामुदायिक उत्थानशीलता परियोजना अन्तरगत स्थानीय डकर्मीहरूका लागि ७ दिवसीय भूकम्प प्रतिरोधी भवन निर्माण प्रविधि तालिम १२ जनालाई प्रदान गरिए पछि पालिकामै दक्ष जनशक्ति तयार भएको हो । डकर्मीको काम गर्दै आएका व्यक्तिहरूलाई थप दक्ष बनाई भूकम्प प्रतिरोधी संरचना निमार्ण गर्नका लागी तालिम प्रदान गरिएको आयोजक संस्था सिडिएफका विपद् जोखिम न्यूनीकरण अधिकृत धिर्क सिंहले बताए ।
गर्दै गरेको काममा थोरै मात्र सूत्रबद्ध गर्दा भूकम्प प्रतिरोधी संरचना बनाउन सकिने अनुभव प्राप्त गरेको तालिममा सहभागी महेश बहादुर घर्तिमगरले बताए । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागी तालिममा सहभागी व्यक्तिहरू योग्य भएको प्रशिक्षक इन्जिनियर लक्ष्मण खड्काले बताए । पालिकाका सबै वडाका सहभागी रहेको एक हप्तासम्म सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो ।
