
डोटी : बोगटान फुड्सिल गाउँपालिकामा गाउँ घर चिकित्सा कार्यक्रम सुरु भएको छ । बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकाका सम्पूर्ण वडाहरूमा शिविर सञ्चालन भएको हो । चैत्र १ गते कानाचौरबाट शिविरको शुभारम्भ भएको अ.हे.व शिशिर बोगटीले बताए ।

डा.सज्जित कुमार यादव सहितको टोलीले शिविरमा सेवा दिइरहेका छन् । शिविरमा महिलाहरूको पाठेघर खस्ने समस्याको चेक जाँच र उपचार तथा अन्य सामान्य स्वास्थ्य समस्याको उपचारात्मक सेवा प्रदान गरिने छ ।आफ्नै घर दैलोमा चिकित्सकबाट सेवा पाउँदा स्थानीय सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन् ।
यो कार्यक्रमले गाउँघरका स्वास्थ्य सेवामा पहुँच नभएका व्यक्तिहरू तथा महिलाहरूका स्वास्थ्य समस्याहरू पत्ता लगाउने र समयमै उपचार होस भनेर कार्यक्रम ल्याएको स्वास्थ्य संयोजक प्रेम बोगटीले बताए । पहिलो दिन १५० जनाले सेवा लिएका थिए भने दोस्रो दिन केदार अखडामा ५० जना भन्दा बढिले सेवा पाएका छन् । कार्यक्रम गाउँपालिकाका ७ ओटै वडामा सञ्चालन हुने भएको छ ।
