
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी जिम्मेवारी बाँडफाँडमा व्यस्त रहेको छ । तिन दिन देखी धनगढीमा जारी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय कमिटी सदस्य र प्रदेश कमिटी पदाधिकारीको बैठकले जिम्मेवारी बाँडफाँड गरिरहेको प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सबले बताए ।
९ जिल्लाका जिल्ला समन्वय समितिका संयोजक र सचिव, पालिका इन्चार्ज सह–इन्चार्ज, प्रदेश स्तरीय २९ विभागका प्रमुख तथा सदस्यहरू, जिल्ला समन्वय समिति सदस्य चयन गर्ने काम भइरहेको केन्द्रीय कमिटी सदस्य शिव सिंह ओलीले जानकारी दिए । ओलीले भने ‘ पार्टीमा जिम्मेवारी बाँडफाँड गर्नुका साथै वैशाख ३० गते हुने स्थानीय तहको रणनीति तय गर्नमा बैठक केन्द्रित छ ।’

अधिकांश जिल्लाका संयोजक र सचिवको जिम्मेवारी टुङ्ग्याएको माओवादीले जिल्ला सदस्य र विभागीय प्रमुख तथा सदस्य छनौटमा जुटेको छ । यसका साथै ३३ जना प्रदेश कमिटी सदस्य पनि आजै मनोनीत गर्ने तयारी भइरहेको छ ।
