भुक्तानी दिन असार नकुर्नुहोस मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक अनियमितता कम गर्न विकास निर्माणका काममा भुक्तानी लिनुपर्ने रकमका लागि असार मसान्त कुर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ । डोटीको दिपायल स्थित राजपुरमा स्थापना गरिएको प्रदेश लेखा इकाई कार्यालयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका मुख्यमन्त्री भट्टले कतिपय योजनाको काम असार अघि नै सम्पन्न हुँदा समेत भुक्तानी लिनु पर्ने रकम कालागि असार मसान्त कुर्ने प्रवृत्ति कायमै रहेको तर्फ सङ्केत गर्नुहुँदै असारमा आएर मात्र खर्च देखाउने काम रोक्नु पर्ने कुरामा जोड दिनुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो,– ‘नियतवश नै कतिपय ब्यक्तीले काम सम्पन्न हुँदा समेत रकम भुक्तानी असार मसान्तमा लिने प्रवृत्ति छ । असार मसान्तमा कार्यालयमा कामको अत्यधिक चाप हुन्छ । कामको चाप भएको समयमा भुक्तानी लिँदा थुप्रै कमजोरी हुन सक्छ । आर्थिक अनियमितता रोक्न र बितिए अनुशासन कायम राख्नका लागि भए पनि काम सकिने बित्तिकै भुक्तानी लिन लगाउनु पर्छ ।’
शनिवार एकै दिन सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर,डडेल्धुरा र डोटी जिल्लामा प्रदेश लेखा इकाई कार्यालयको उद्घाटन गरिएको छ । प्रदेश सरकार अन्तरगत कर्मचारी अभावका कारण प्रदेश लेखा इकाई कार्यालय स्थापनामा ढिलाइ भएको जानकारी दिनुहुँदै मुख्यमन्त्री भट्टले आगामी दिनमा प्रदेश सरकार अन्तरगतका अन्य कार्यालयहरूलाई पनि जिल्ला स्तरमा बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशमा कार्य बोझ बढी भएका जिल्लाहरूमा प्रदेश लेखा इकाई कार्यालयको स्थापना गरिएको सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले बताउनुभयो । प्रदेश लेखा नियन्त्रक जोशीले भन्नुभयो, – ‘सबै जिल्लाहरूमा प्रदेश लेखा इकाई कार्यालय स्थापना गर्ने योजना छ । यस अघि सङ्घीय सरकार अन्तरगतको कोष तथा लेखा नियन्त्रण कार्यालय अन्तरगत भइरहेका कतिपय रकम भुक्तानीको काममा सहज हुने भएको छ ।’

डोटीको राजपुर स्थित साबिकको क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा प्रदेश लेखा इकाई कार्यालयको स्थापना गरिएको छ । प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीको अध्यक्षतामा भएको लेखा इकाई कार्यालयको उद्घाटन कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
