विपद्को समयमा गरिने क्रियाकलापको व्यवहारिक अभ्यास 

डोटीमा विपद्को समयमा गरिने खोज, उद्धार, राहत र सहजिकरणका लागि गरिने क्रियाकलापको व्यवहारिक अभ्यास गरिएको छ ।
 
मङ्गलवार जिल्ला विपद् व्यवस्थापन समिति डोटीको आयोजनामा जिल्ला सदरमुकाम सिलगढी टुँडिखेलमा व्यवहारिक अभ्यास गरिएको हो ।  कार्यक्रममा विपद्पछि उद्धार गरिने तरिका, लगत सङ्कलन, राहत वितरण हुने विधि, पुनर्स्थापना लगायतका क्रियाकलाप गरिएको थियो ।
अभ्यासका क्रममा एउटा काल्पनिक वस्तिमा आगलागी भएपछि आगो नियन्त्रणमा लिन विभिन्न निकायले खेलेको भूमिका, आगलागीबाट घाइतेहरूको उद्धार, पुनर्स्थापनामा स्थानीय सरकार तथा विपद् व्यवस्थापन समितिको भूमिका लगायतका क्रियाकलाप गरिएका थिए ।
Sayalb
विशेष गरेर आज आगलागीबाट सिर्जना हुने विपद्को बेला गर्नु पर्ने कार्यहरूको अभ्यास गरिएको र आगामी दिनहरूमा अन्य विपद्को बारेमा पनि सचेतना मूलक अभ्यास गरिने जिल्ला विपद् व्यवस्थापन समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले बताए । यो समयमा आगलागीका घटना बढी हुने भएकाले आगलागीको बेला हुने विभिन्न क्रियाकलापको अभ्यास गरिएको उनले बताए । विपद् जुनसुकै बेला जोसुकैलाई पनि पर्न सक्ने भएकाले सबैले सजगता अपनाउनु पर्ने उनको भनाई छ ।
अभ्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण डोटी, नेपाली सेना रुद्र ध्वज गण सिलगढी डोटी संयोजन तथा कारितास अस्ट्रिया, कारितास नेपाल, सिडिएफ नेपाल, सामुदायिक विकास केन्द्र सिडिसी नेपाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीको सहयोग रहेको थियो ।
Shaileshwori
Loading...