

पाँच बर्षको अवधीमा डोटी जिल्लामा २२ हजार ४९८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलवहादुर मलासीका अनुसार २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डोटी जिल्लामा १ लाख १ हजार ११६ मतदाता रहेकामा २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख २३ हजार ५५४ मतदाता रहेका छन् ।
दश बर्षको अवधीमा जिल्लाको जनसंख्या घटेको भएपनि मतदाता संख्यामा भने पाँच बर्षको अवधीमा करीव करिब २२ प्रतिशतले बृद्धि भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मलासीले भन्नुभयो,– ‘केन्द्रीय तथ्याङ्क बिभागले सार्वजनिक गरेको प्रारम्भिक बिवरण अनुसार जिल्लाको जनसंख्या बृद्धि दर ऋणात्मक रहेको भएपनि अघिल्लो स्थानीय तहको निर्वाचनलाइ हेर्ने हो भने जिल्लाका सबै स्थानीय तहहरुमा मतदाता थपिएका छन् ।’
जिल्लाको शिखर नगरपालिकामा तीन हजार ४६४ मतदाता थपिएका छन् । हाल शिखर नगरपालिकाको मतदाता संख्या २० हजार ५८० पुगेको छ । बडिकेदार गाउँपालिकामा एक हजार ७५६ मतदाता थपिएका छन् । हाल यस गाउँपालिकाको मतदाता संख्या नौ हजार ३५५ पुगेको छ । बोगटान फुड्सिल गाउँपालिकामा एक हजार ६५१ मतदाता थपिएका छन् । बोगटान फुड्सिल गाउँपालिकामा मतदाता संख्या १० हजार ७९ पुगेको छ । जोरायल गाउँपालिकाको मतदाता संख्यामा दुईहजार १७० मतदाता संख्या बढेको छ । यस गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा ११ हजार एक सय ४५ मतदाता रहेकामा हाल १३ हजार ३१५ पुगेको छ । केआई सिंह गाउँपालिकामा पनि मतदाता संख्यामा उल्लेख्य बृद्धि भएको छ । यस गाउँपालिकामा गत निर्वाचन भन्दा दुईहजार ९०१ जना मतदाता थपिएर १३ हजार ७७ मतदाता पुगेका छन् । पूर्वीचौकी गाउँपालिकामा मतदाता संख्यामा एक हजार ९३१ मतदाता थपिएका छन् । हाल पूर्वीचौकीमा १३ हजार ३४ मतदाता रहेका छन् ।
दिपायल सिलगढी नगरपालिकामा मतदाता संख्यामा भने तीन हजार ७०६ जना मतदाता थपिएका छन् । हाल यस नगरपालिकाको मतदाता संख्या १८ हजार ८११ पुगेको छ ।
यसै गरी आदर्श गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा दुइ हजार ४८३ मतदाता थपिएका छन् । यस गाउँपालिकाको कुल मतदाता संख्या १४ हजार ३९९ पुगेको छ ।
सायल गाउँपालिकामा एक हजार ९७६ मतदाता थपिएका छन् । हाल यस गाउँपालिका १० हजार ९०४ मतदाता रहेका छन् ।
