
घोडाघोडी नगरपालिकाका धार्मिक अगुवाका लागी मानव अधिकार सम्बन्धी दुई दिने तालिम सुखडमा सुरु भएको छ । बाल विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसा अन्त्य गरी मानव अधिकारको प्रत्याभूति गर्नकालागी धार्मिक अगुवाको भूमिकाका बारेमा जानकारी दिनका तालिमको आयोजना गरेको महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्चालन (निरन नेपाल) घोडाघोडीको अध्यक्ष शिवप्रसाद ढकालले जानकारी दिए । ढकालले भने ‘समाजमा विद्यमान रहेका हानिकारक परम्परा अन्त्य गर्नुमा धार्मिक अगुवाहरूको नेतृत्वदायी भूमिका हुने देखियो त्यसैले सबै धर्मका धार्मिक अगुवालाई २० वर्ष पुरा नभई विवाह नगर्ने प्रतिबद्धता गराई बाल विवाह न्यूनीकरण गर्ने हाम्रो उद्देश्य हो ।’
महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्चालन (निरन नेपाल)को आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा घोडाघोडी नगरपालिका भित्रका सबै धर्मका धार्मिक अगुवा र महिला अधिकारकर्मीहरूको सहभागी रहेका छन् ।

समाजमा विद्यमान हानिकारक परम्पराहरू बाल विवाह, छाउपढीप्रथा, घरेलु हिंसा, लैङ्गिक हिंसाका क्षेत्रमा काम गर्दै आएको निरन नेपालले कैलालीको घोडाघोडी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको पञ्च देवल विनायक नगरपालिका र मेल्लेक गाउँपालिकामा काम गर्दै आएको छ ।
